आगामी आवको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

अर्थमन्त्री पुनको दाबी- बजेट समानुपातिक र उत्पादनमुखी
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी आवको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो ।

यसअघि अर्थमन्त्री पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने बताउनुभयो । बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको दाबी गर्नुभयो ।

उहाँले आगामी वर्ष कृषि क्षेत्रमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण तथा प्रविधिको प्रयोग गरी उत्पादन, भण्डारण, प्रशोधन एवं वितरणका समग्र चरणमा सुधार गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य रहेको बताउनुभयो ।

मन्त्री पुनले कृषि क्षेत्रलाई बजेटमा उच्च प्राथमिकता दिइएको भन्दै सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्रीको जवाफपछि राष्ट्रिय सभाले बजेट सर्वसम्मत पारित गरेको हो । सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.