सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन् । बुधबार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताउनु भयो ।

उहाँले आन्दोलन असार १४ गतेदेखि सुरु गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताउनु भयो । ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, 'हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो । समायोजन गर्दा दरबन्दीभन्दा बढी समायोजन गर्‍यो । त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने कि प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो । त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ । संघमा संख्या १० र समायोजन २० गरे जसरी बढी संख्यामा समायोजन गरेको थियो । त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो । हाम्रो वृद्धि विकास पूरै ठप्प भयो । दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हौं ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.