तस्बिरमा बुटवल-नारायणगढ सडकको कन्तबिजोग

असार २१, २०८१ |नवीन पौडेल
तस्बिरमा बुटवल-नारायणगढ सडकको कन्तबिजोग

नवलपुर । समयमै काम सम्पन्न भएको भए बुटवल-नारायणगढ खण्ड नेपालकै नमुना सडक बन्ने थियो । तर, ठेकेदार कम्पनीले काम गर्न ढिलासुस्ती गर्ने र सरकारले ठेकेदारले भनेअनुसार आयोजनाको म्याद थप गर्दै जाँदा यो खण्डको यात्रा कष्टकर छ ।

जरुरी कामबाहेक यो सडक भएर यात्रा गर्न जो कोही मान्दैनन् । सडक विस्तारका क्रममा विभिन्न स्थानमा खाडल खन्ने, सडक भत्काउने र समयमा मर्मत नगर्दा हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

जिल्लाको चोरमारामा हिजो (बिहीबार) बेलुकादेखि सडकमा माटोको लेदोले गर्दा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा छ । यात्रुवाहक र साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । विभिन्न स्थानमा बनाइएको डाइभर्सनका कारण हिँडडुलमा समस्या छ ।

जीर्ण भएको सडक ठेकेदार र सरकारी पक्ष दुवैले मर्मत नगर्दा समस्या बढ्दै गएको एम्बुलेन्स चालक टेकबहादुर सुनारी मगरले गुनासो गर्नुभयो । ‘सामान्य अवस्थाको यात्रुलाई त यो खण्डमा यात्रा गर्न कठिनाइ छ । हामीले त झन् बिरामी बोकेर हिँड्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सडकको खाडल र पानी पर्नेबित्तिकै बाटो बन्द हुँदा बिरामी बोकेर जाममा पर्नुपर्ने अवस्था छ ।’

२०७५ माघबाट काम सुरु गरेर २०७८ माघ महिनामा सम्पन्न हुनुपर्ने काम ठेकेदारले ढिलासुस्ती गर्दा ५२ प्रतिशत मात्र काम भएको नारायणगढ-बुटवल आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

दोस्रोपटक थप भएको म्याद साउन ८ गते सकिँदै छ । सवारीसाधन जाम भएको एक घण्टाभित्रमा सडक मर्मतको काम सक्ने प्रतिबद्धता व्यक्त गरे पनि ठेकेदार कम्पनीले यसलाई कार्यान्वयन नगर्दा समस्या बढेको छ ।

हेर्नुहोस् नवीन पौडेलका थप स्टोरी ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।