६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयद्वारा थप ६० जनाविरुद्ध मुद्दा दायर

६१ अर्ब बिगो तथा जरिबाना गर्न माग
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयद्वारा थप ६० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । ब्रेक सू र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले थप ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध ६१ अर्ब बिगो तथा जरिवाना माग गर्दै सरकारी वकिल कार्यलयले काठमाडौं जिल्ला अदालतमा हिजो मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । विभिन्न डमी कम्पनीका नाममा पैठारी भइ आएका माल वस्तुहरूको परीक्षण गर्दा ती पार्ट पुर्जामा भएको सुनको तौल ३ हजार १ सय ९४ केजीभन्दा बढीको भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ । यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड बिगो र त्यति नै जरिबाना दाबी अभियोग पत्रमा गरिएको छ ।

अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ । उनीहरूविरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.