कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्चको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन

फैसला कानुनी व्यवस्थाविपरीत भन्दै बदर गर्न माग
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्चको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन

काठमाडौं । विशेष अदालतबाट दोषी ठहर भएका कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला बदरको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावलोकन निवेदन दर्ता गरेको छ ।

भृकुटीमण्डपको जग्गा भाडा लेनदेनमा अनियमितता गरेको भन्दै विशेष अदालतले २०७९ फागुनमा गुरुङलाई एक करोड ८४ लाख ४ सय १ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। विशेष अदालतको फैसलासँगै गुरुङको सांसद पद निलम्बनमा परेको थियो। निलम्बन फुकुवाको मागसहित गुरुङले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गत चैत १६ मा निलम्बन गैरकानुनी भएको ठहर गरेको थियो ।

सर्वोच्चमा सोमबार दायर गरेको पुनरावेदनमा आयोगले विभिन्न पन्ध्र आधार पेस गर्दै सांसद गुरुङको नियतमाथि पनि प्रश्न उठाएको छ । विशेष अदालतको फैसलाविरुद्ध सांसद गुरुङको रिट पहिलो दृष्टिमै खारेजभागी रहेको समेत अख्तियारको दाबी छ । विद्यमान कानुनी व्यवस्थाविपरीत भएको उक्त फैसला बदर गर्न पनि अख्तियारले माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.