रुसी सेनामा थप १० नेपाली युवाको मृत्यु

युक्रेनसँगको युद्धमा अहिलेसम्म ३५ नेपालीको ज्यान गएको मस्कोस्थित नेपाली दूतावासबाट पुष्टि
असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसी सेनामा थप १० नेपाली युवाको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा परेर थप १० नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार पछिल्लो पटक मृत्यु पुष्टि भएका १० सहित ज्यान गुमाउने नेपालीको संख्या ३५ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईं, लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, जिल्ला पत्ता नलागेका राजु थारू र घनश्याम परियार रहेको दूतावासले जनाएको छ ।

युद्धमा घाइते भएर उपचाररत नेपाली ६ रहेको पनि दूतावासले जनाएको छ । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १ सय २८ पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । 

परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीका बारेमा सुरुआतमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन । दूतावासले पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन । दूतावास स्रोतले उपलब्ध गराएको सूचनाअनुसार ३५ जनाको नाम पुष्टि भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.