गाजाको सुजाइया जिल्लामा इजरायली सेनाको आक्रमण तीव्र

बिहीबारयता मात्रै करिब ८० हजार प्यालेस्टिनी विस्थापित
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाको सुजाइया जिल्लामा इजरायली सेनाको आक्रमण तीव्र

काठमाडौं । इजरायली सेनाले गाजाको सुजाइया जिल्लामा आक्रमणलाई तीव्र पारेपछि बिहीबारयता मात्रै करिब ८० हजार प्यालेस्टिनी विस्थापित भएका छन् ।

हमासका लडाकु रहेको भन्दै इजरायली सेनाले जुन २७ देखि सुजाइया क्षेत्रमा आक्रमण तीव्र पारेको छ । आक्रमणका कारण सो क्षेत्रमा हताहती बढेको प्रत्यक्षदर्शी र चिकित्सकहरूले रिपोर्ट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

त्यस्तै पश्चिमी रफाहमा पनि स्थिति सामान्य नरहेको बताइएको छ । इजरायली सेनाले जुन २८ देखि त्यहाँ पनि आक्रमणलाई तीव्रता दिएको छ । आक्रमणबाट ११ जनाको मृत्यु भएको र हजारौँ प्यलेस्टिनी विस्थापित भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन् । बढ्दो आक्रमणप्रति प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले चिन्ता व्यक्त गरेको छ । 

आक्रमणका कारण इन्धन अभाव हुँदा १८ वटा एम्बुलेन्स सञ्चालनमा हुन नसकेको सोसाइटीले जनाएको छ ।  विश्व स्वास्थ्य संगठन र अन्य एजेन्सीहरूले पनि गाजामा   स्वास्थ्य सेवा प्रणाली पूर्ण रूपमा ध्वस्त हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने हमासलाई परास्त नगरेसम्म गाजा युद्ध जारी राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याउनु भएको छ । उता हमासका अधिकारी ओसामा हमदानले इजरायलसँग बन्धक रिहाइ र युद्ध बिरामको विषयमा कुनै प्रगति नभएको स्पष्ट पारेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.