मन्त्री नआएपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक सुरु

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्री नआएपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । मन्त्री नआएपछि १५ मिनेटका लागि स्थगित भएको आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोक सेवा आयोगको चौसट्ठिऔँ वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.