हिमाली हिरा खोज्दा, जीवन गुम्दो !

हिमाली पाटनमा यार्सा टिप्न पुगेका सात जनाको मृत्यु, वर्ष दिनको घर खर्च टार्ने सपना चकनाचुर
चर्को राजस्व असुल्ने सरकार नागरिकको सुरक्षामा लापरबाह
असार ८, २०८१ |सरोज थापा
हिमाली हिरा खोज्दा, जीवन गुम्दो !

डोल्पा । हिजोआज हिमाली हीरा अर्थात बहुमूल्य जडीबुटी यार्चा टिप्ने सिजन हो । उच्च हिमाली भेकका पाटनहरुमा पाइने हिमाली हीरा टिप्न निकै कठिन छ । घरखर्च चलाउने सपना बुनेर पाटन पुगेका कतिपय नागरिक त घरै फर्कन पाउँदैनन् । यो वर्ष मात्रै लेक लागेर सातजना यार्चा संकलकको मृत्यु भएको छ ।

यार्चा टिप्न डोल्पा आएकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४, गोतामकोट की २२ वर्षीया जमुना विष्टको जेठ १४ गते डोल्पो बुद्ध गाउँपालिकामा पर्ने पाखापानीको यार्चा पाटनमा मृत्यु भयो । लेक लागेर बिरामी हुनुभएकी उहाँको समयमै उद्धार र उपचार हुन नसक्दा मृत्यु भएको हो ।

जेठ १४ गते नै शे फोक्सुन्डो गाउँपालिकाको नाउरे पाटनमा जाजरकोटको बारेकोट गाउँपालिका ७ का बमबहादुर बस्नेतको पनि लेक लागेर मृत्यु भयो । बस्नेतको पनि समयमै उद्धार हुन नसक्दा मृत्यु भएको हो । उल्लेखित घटना मात्र होइन, यार्चा टिप्न पाटन पुगेका नागरिकमध्ये हरेक वर्ष दर्जनौंको लेक लागेर मृत्यु हुने गरेको छ । तराई, पहाड र बेंसीमा बसोबास गर्ने नागरिकलाई हाइअल्टिच्युटका कारण पाटनमा लेक लाग्ने उच्च जोमिख हुन्छ ।

विश्व बजारमा बहुमूल्य मानिने यार्चा टिप्न हरेक वर्ष जेठ १० गतेदेखि एक महिनाका लागि पाटन क्षेत्र खुला गरिन्छ । महिनाभर, यार्चा टिपेर वर्षदिनको घरखर्च टार्ने धेरैको सपना हुन्छ । तर लेक सहन नसक्नेहरुका लागि यार्चा टिप्ने सपना मात्र अँधुरो रहँदैन, पाटनमै अन्तिम सास फेर्नुपर्ने बाध्यता आइलाग्छ ।

डोल्पाका बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत मानिने यार्चा छिमेकी जिल्लाका नागरिकका लागि पनि मौसमी आम्दानीको बलियो माध्यम हो । यहीकारण ज्यानको बाजी थापेर रुकुम पूर्व र पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, जुम्ला र हुम्लाका नागरिक यार्चा संकलन गर्न डोल्पाका उच्च हिमाली पाटनमा आउने गरेका छन् ।

यार्चा टिप्नेहरुबाट राज्यले करबापत राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका नागरिकसँग प्रतिव्यक्ति पाँच सय, जिल्लाका बासिन्दासँग दुई हजार र बाहृय जिल्लाका सँग ३ हजार रुपैयाँ शुल्क लिने गर्छ । त्यस्तै फोहोर व्यवस्थापन र चोरी-सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले एक सयदेखि पाँच सय रुपैयाँसम्म थप शुल्क लिने गरेको छ । तर यार्चा संकलनका लागि भने राज्यले न सुरक्षा पूर्ण व्यवस्था गरेको छ न त बिरामी परे समयमै उद्धार र उपचार ।

प्रहरीका अनुसार यो वर्ष मात्रै लेक लागेर सातजना यार्चा संकलकको मृत्यु भएको छ । जसमध्ये बाहृय जिल्लाका पाँचजना र डोल्पाकै दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । मानव स्वास्थ्यका लागि अमृतसमान मानिने र बहुमूल्य औषधि उपचारका प्रयोग हुने यार्चा कर्णाली प्रदेशको मुगु र डोल्पाका पाटनमा पाइन्छ । यो वर्ष मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका २४ भन्दा बढी र डोल्पाका १०० भन्दा बढी पाटनमा यार्चा संकलन भइरहेको छ ।

हेर्नुहोस् सरोज थापाका थप स्टोरी ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement