अर्घाखाँचीको छत्रदेवका २ हजार घरधुरीमा ‘एक घर एक धारा’

खानेपानी आयोजना निर्माण थालिएपछि छत्रदेवका बासिन्दा खुसी
असार ८, २०८१ |रुद्रमणि भुसाल
अर्घाखाँचीको छत्रदेवका २ हजार घरधुरीमा ‘एक घर एक धारा’

अर्खाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका ५ वटा वडाका झन्डै २ हजार घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गर्ने गरी बृहत् खानेपानी आयोजनाको काम अगाडि बढेको छ । अर्घाखाँचीकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएपछि छत्रदेववासीमा खुसी छाएको छ ।

बिडारी निर्माण सेवाले ३० करोड २२ लाखको लागतमा २०७९ चैत १ गते ठेक्का लिएको यो आयोजना २०८१ चैत ३० सम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी निर्माण तीव्र बनाएको इन्जिनियर सुदीप ज्ञवालीले जनाउनुभयो । उहाँका अनुसार आयोजना बने छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुंगा र छत्रगन्जका बासिन्दा लाभान्वित हुनेछन् ।

दुई स्टेज पम्पिङ रहेको यो आयोजनामा कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गर्ने र त्यस स्थानमा पानी प्रशोधित भइसकेपछि मौलीपोखराको ६० घनमिटरको ट्यांकीमा पानी पठाइन्छ ।

मौलीपोखराको ट्यांकीबाट सिधै कोटमा रहेको १२० घनमिटरको ट्यांकीमा पानी खसालेपछि त्यहाँबाट पाँचवटा वडाका विभिन्न ९ स्थानमा बनेका ट्यांकीमा पानी लैजाने गरी काम अगाडि बढेको छ । सुक्खा क्षेत्रका रूपमा रहेको छत्रदेव गाउँपालिकामा यो आयोजना सम्पन्न भएपछि खानेपानीको कुनै समस्या नहुने स्थानीय हरि भुसाल बताउनुहुन्छ ।

डीपीआर भएर पनि १० वर्षसम्म पनि अगाडि बढ्न नसकेको यो आयोजना निर्माण सुरु भएको १४ महिनामा ५० प्रतिशतभन्दा बढी भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement