कावासोतीमा महिला मजदुरको मृत्युले निम्त्याएको प्रश्न ?

जेष्ठ ३२, २०८१ |नवीन पौडेल
कावासोतीमा महिला मजदुरको मृत्युले निम्त्याएको प्रश्न ?

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा ढल निर्माणको क्रममा बिहीबार तीन महिला मजदुरको मृत्यु भयो । ढलको खाडल खन्ने क्रममा माटोले पुरिएका तीन जनामध्ये एकजनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मध्यविन्दु अस्पतालमा मृत्यु भएको थियो । करिब ८ फिट गहिरो ढलको खाडलमा माथि थुपारेको माटो खसेर मजदुरको मृत्यु भएको यो दुखद घटनाले कामका बेलामा मजदुरको सुरक्षाको गम्भीर प्रश्न उब्जिएको छ ।

कावासोती नगरपालिकाको ढल निकासका लागि भन्दै आर्थिक वर्षको अन्त्यमा हतार-हतार निर्माण हुँदै गरेको संरचनामा मजदुर पुरिएर मृत्यु भएपछि शुक्रबार दिनभर कावासोती तनावग्रस्त बन्यो । मृतकका परिवार र आफन्तले कामदारको सुरक्षामा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिकाको कार्यालय र नगर प्रमुखको घरमा तोडफोड गरे ।

कुनै पनि निर्माणको काममा मजदुरको लागि सुरक्षा सामग्री र सुरक्षित वातावरण बनाउनेतर्फ सरकारी निकायको ध्यान नजाँदा विपन्न वर्गका मजदुरले ज्यान गुमाउनुपरेको पीडितका आफन्त ओमप्रसाद न्यौपानेको गुनासो छ ।

सरकारी विकास निर्माणको काम होस् वा निजी क्षेत्रको निर्माणकार्य कामदारको सुरक्षामा चासो दिएको पाइँदैन । विपन्न वर्गका मानिसहरुले दैनिक मजदुरी गरेर विकास निर्माणमा टेवा दिने जनशक्तिको सुरक्षा र अधिकारमा सरकारी निकाय नै मौन रहेको अधिकारकर्मी राम तामाङको भनाइ छ ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले घटना भइसकेपछि न्यून राहत र क्षतिपूर्तिको व्यवस्था गरे पनि कामदारको सुरक्षा र अधिकारका विषयमा प्रभावकारी अनुगमन र नियमन नगर्दा बर्सेनि यस्ता घटना हुने गरेका छन् । त्यसैले राज्य न्यून वर्गका मजदुर र उनीहरुको मौलिक अधिकारमा सचेत हुन जरुरी छ ।

यो पनि...

ढल निर्माणका क्रममा मृत्यु भएकाको आफन्तलाई नगरपालिकाले क्षतिपूर्ति दिने, बच्चालाई १२ कक्षासम्म पढाइदिने


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement