रवि लामिछानेसँग आज पनि बयान लिइँदै

पुस १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेसँग आज पनि बयान लिइँदै

कास्की । सहकारीको रकम अपचलन गरेको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि कास्की जिल्ला अदालतमा बयान लिइँदै छ । बुधबारदेखि सुरू भएको लीला पछाईको बयान हिजो सकिएसँगै लामिछानेसँग हिजैबाट बयान लिन थालिएको थियो ।

पहिलो दिन न्यायाधीश नितिज राईले लामिछानेसँग तीन घण्टा बयान लिनुभएको थियो । न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता इन्कार गरेका छन् । अभियोगपत्रमा भने जस्तो कुनै पनि कसुरमा आफू संलग्न नरहेको अदालतसामु उनले दाबी गरेका छन् । अदालते प्रहरीको अनुसन्धान प्रतिवेदन र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिजो बयान नसकिएकाले आज पनि बयान निरन्तरता हुने भएको हो । यसअघि गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिइसकेको छ भने रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस सुरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement