ढल निर्माणका क्रममा मृत्यु भएकाको आफन्तलाई नगरपालिकाले क्षतिपूर्ति दिने, बच्चालाई १२ कक्षासम्म पढाइदिने

जेष्ठ ३२, २०८१ |कान्तिपुर टीभी संवाददाता
ढल निर्माणका क्रममा मृत्यु भएकाको आफन्तलाई नगरपालिकाले क्षतिपूर्ति दिने, बच्चालाई १२ कक्षासम्म पढाइदिने

नवलपरासी । पूर्वी नवलरासीको कावासोतीको फलफूल चोकमा ढल निर्माणका क्रममा मृत्यु भएका मृतकका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ ।

आज नगरपालिकामा बसेको बैठकले मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५/५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका बालबच्चाका नाममा पाँच लाखका दरले अक्षयकोष स्थापना गर्ने सहमति भएको छ ।

पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा १२ सम्म अध्ययन खर्च नगरपालिकाले बेहोर्ने सहमति भएको कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीले बताउनुभयो ।

यसअघि दिउँसो मृतकका आफन्तले नगरपालिका र नगर प्रमुख घर तोडफोड गरेका थिए । सोक्रममा प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको थियो । फलफूल चोकदेखि पूर्वतर्फको ठूलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने तीन महिला मजदुरको बिहीबार ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.