जब खप्तड एयरलाइन्सको विमान दुर्घटना भयो...

हवाई उडान, सुरक्षा एवं उद्धारसम्बन्धी निकायको सहभागितामा उद्धार अभ्यास
जेष्ठ २८, २०८१ |नारायण किलम्बू
जब खप्तड एयरलाइन्सको विमान दुर्घटना भयो...

काठमाडौं । विमानस्थलमा विमान दुर्घटना भइहाले कसरी उद्धार गर्ने ? आगो कसरी निभाउने ? प्राथमिक उपचार कसरी गर्ने ? यस्ता आपत्‌कालीन अवस्थाको सामना गर्न नागरिक उड्डयन प्राधिकरणले आज त्रिभुवन विमानस्थलमा अभ्यास गरेको छ । हवाई उडान, सुरक्षा एवं उद्धारसम्बन्धी निकायको सहभागितामा उद्धार अभ्यास गरिएको हो ।

त्रिभुवन विमानस्थलबाट उडान भरेको खप्तड एयरलाइन्सको विमान आपत्‌कालीन अवतरणका क्रममा धावनमार्गको पूर्वतर्फ दुर्घटना भयो । तत्काल विमानस्थलको उद्धार तथा अग्निनियन्त्रण सेवा, सेना, सशस्त्र बललगायत उद्धारकर्मीहरु खटिए । विमानमा लागेको आगो निभाउन दमकलहरु आइपुगे । झट्ट हेर्दा साँच्चैजस्तो लाग्ने यी दृश्य नागरिक उड्डयन प्राधिकरणले गरेका आपतकालीन अभ्यास थिए ।

विमानस्थलका चिकित्सक टोलीबाट घाइते यात्रुको उपचार, सख्त घाइतेहरुलाई एम्बुलेन्समा अस्पताल लैजानेजस्ता अभ्यास पनि गरिएको थियो । आधा घण्टासम्म चलेको अभ्यासका क्रममा विमानमा आगलागी भएपछि यात्रु तथा चालक दलको उद्धार कसरी गर्नेलगायत अभ्यास गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जनाउनुभयो ।

‘विमानस्थलमा जहाज दुर्घटना भइहाले तत्काल उद्धारका लागि दमकल, एम्बुलेन्स, उद्धारकर्मीलगायत सबैपक्ष कसरी परिचालित गर्ने भन्ने सन्देश यस अभ्यासले दिएको छ,’ उहाँले भन्नुभयो । हवाई दुर्घटना तथा आगलागी जस्ता आपत्‌कालीन घटनाका बेला सरोकारवाला निकायबीचको समन्वय तथा क्षमता अभिवृद्धि र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले संकटकालीन अभ्यास गरिएको प्राधिकरणले जनाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।