सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठको पनि मृत्यु भएको छ ।
सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेका अनुसार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो ।
गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका ५ झगडेवेसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी घाइते भएका रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रवीन्द्र ठाकुरको उपचारका क्रममा आइतबार सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो ।
धनुषाको कमला नगरपालिका- ९ घर भएका ठाकुरको शव सिन्धुली अस्पतालमा पोस्टमार्टम पश्चात् सोमबार परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । प्रदेश ३-०२-००१ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।