भारतमा ग्यास दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

जेष्ठ २१, २०८१ |वसन्तप्रताप सिंह
भारतमा ग्यास दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो
प्रतीकात्मक तस्बिर

बझाङ । भारतको बैंग्लुरुमा भएको खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी नीता बोहराको पनि मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

भारतको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा ग्यास लिक भएको घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका ११, सुइलका एकै परिवारका पाँचजना जलेर घाइते भएका थिए । ३२ वर्षीय मदनको आइतबार राति र उनकी ११ वर्षीया छोरी नीताको सोमबार बिहान मृत्यु भएको हो ।

उनकी ३० वर्षीया पत्नी प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनीता र साढे चार वर्षीय छोरा प्रशान्तको सोही दुर्घटनामा मृत्यु भइसकेको छ । उनीहरु सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो ।

गत बुधबार राति ११ बजे तिर सबै परिवार कोठामै भएका बेला खाना पकाउने क्रममा ग्यास एक्कासि विस्फोट भएको थियो । घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्यास लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहोरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकिदारका रुपमा कार्यरत थिए । उनकी पत्नीले स्थानीयको घरमा सरसफाइको काम गर्दै छोराछोरीहरुलाई त्यहीँको विद्यालयमा पढाइरहेका थिए ।

भारतमा रहेका नेपालीहरुले चन्दा संकलन गरेर उपचारको खर्च बेहोरिरहे पनि परिवारका कुनै सदस्यलाई बचाउन नसकिएको बेंग्लुरुमा रहेर उनीहरुको उपचारका लागि आर्थिक संकलन अभियान चलाइरहेकी जमुना पौडेलले जानकारी दिइन् ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।