बोक्सीको आरोपमा छिमेकी कुट्ने पदम बस्याल पक्राउ, प्रहरी भन्छ- अनुसन्धान जारी छ

जेष्ठ १३, २०८१ |माधव अर्याल
बोक्सीको आरोपमा छिमेकी कुट्ने पदम बस्याल पक्राउ, प्रहरी भन्छ- अनुसन्धान जारी छ

पाल्पा । बोक्सीको आरोपमा छिमेकी महिलालाई निर्घात कुटपिट गर्ने बगनासकाली गाउँपालिका ९, चापपानीका २९ वर्षीय पदम बस्याललाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।

छिमेकी महिलालाई बोक्सीको आरोप लगाएर बोक्सी झार्ने भन्दै शरीरका विभिन्न भागमा घाउ र नीलडाम हुने गरी कुटपिट गरेको आरोपमा बस्याललाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन अघि बढाएको हो । पीडितको जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

महिलाले भैंसीले दूध नदिने, लात्तीले हान्ने, भएपछि ‘लागो’ लागेको भन्दै झारफुक गर्न निज बस्यालको घरमा अक्षता लिएर गएको र सोही समयमा बस्यालले पीडित महिलालाई नै बोक्सीको आरोप लगाएर कुटपिट गरेको प्रहरीको जाहेरीमा उल्लेख छ ।

महिलाको आँखामा बोक्सी भएको आरोप लगाएर लौरो र हातले कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बस्याललाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार मुद्दा अघि बढाउने जनाएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।