गुराँसले ढाकेको रोल्पाको जलजला र धरमपानी क्षेत्र

जेष्ठ ५, २०८१ |मीनराज रोका
गुराँसले ढाकेको रोल्पाको जलजला र धरमपानी क्षेत्र

रोल्पा । रोल्पाको जलजला र धरमपानी क्षेत्रका वनपाखा विभिन्न प्रजातिका गुराँसले ढकमक्क छन् । कतै फक्रनै लागेका कोपिला त कतै ढकमक्क भएको गुराँस त्यहाँ पुग्ने सबैको मन लोभ्याउँछ । रोल्पा जिल्लाको कुल क्षेत्रफलमध्ये ४५ प्रतिशतमा गुराँस फुल्छ ।

रोल्पाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल जलजला र जिल्लाकै अग्लो स्थानमा रहेको धरमपानी क्षेत्रका वनपाखा यतिबेला गुराँस फुलेर रंगीबिरंगी देखिएका छन् । यो सिजनमा विभिन्न प्रजातिका गुराँस फुल्ने भएकाले प्राकृतिक रुपले यसै पनि सुन्दर जलजला र धरमपानी अझ मनमोहक बनेको छ । 

यहाँ फागुनदेखि असारसम्म राता, सेता, बैजनीसँगै थरीथरीको रंगका गुराँस फुल्छन् । जलजला र धरमपानी गुरासँको सुन्दरतमा रमाउने पर्यटक पनि बढेका छन् । यहाँ पुग्ने पर्यटकले सिस्ने, पुथा, धौलागिरि, अन्नपूर्ण हिमश्रृंखलाको नजिकबाट अवलोकन गर्नसक्छन् । 

समुद्र सतहदेखि ३ हजार ६ सय मिटर उचाइँमा रहेको यस क्षेत्रमा १४ प्रजातिका गुराँस पाइन्छन् । रोल्पाका प्रख्यात गाउँहरु थबाङ, जेल्बाङ, मिरुल, लिबाङ ओखरेनी हुँदै जलजला पुग्न सकिन्छ । यो क्षेत्रलाई रोल्पाका स्थानीय तहले पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागि परेका छन् । रोल्पाको ४५ प्रतिशत भू-भागमा गुराँस पाइन्छ । लेकाली हावापानी, रमणीय दृश्य अनि वनैभरी फूलेको गुराँस यहाँ पुग्ने सबैलाई सम्मोहित पार्छ । 


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement