काठमाडौं । साइबर गिरोह र दलालको फन्दामा परेर सक्कली चारित्रिक प्रमाणपत्रमा नक्कली छाप लागेपछि रोजगारीका लागि पोर्चुगलमा रहेका नेपालीहरु कानुनी झमेलामा परेका छन् ।
उनीहरूले अस्थायी आवासीय अनुमति प्रक्रिया-टीआरसीको आवेदन दिने क्रममा पोर्चुगलको एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय-एआइएमले छाप नक्कली भएको ठहर गरेको हो । एआइएमले यो प्रकरणमा छानबिन गर्दै अहिलेसम्म दुई सय नेपालीलाई देश छाड्न इमेल पठाएको छ भने दुई नेपाली पक्राउ परेको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ ।
पोर्चुगलमा अस्थायी आवासीय अनुमति प्रक्रिया-टीआरसीका लागि आवेदन दिने क्रममा पेस गरिएको सक्कली चारित्रिक प्रमाणपत्रमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भेटिएपछि त्यहाँ रहेका नेपालीहरू कानुनी समस्यामा परेका छन् ।
एआइएमले आप्रवासन प्रणालीको दुरूपयोग भएको निष्कर्ष निकाल्दै दुई सय नेपालीलाई देश छाड्न निर्देशन दिँदै इमेल पठाएको छ, जसमा टीआरसी प्रमाणीकरण गर्न नसक्ने भएकाले देश छाड्न र जानकारी दिएर अनुसन्धानलाई सहयोग गर्न भनिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार दुई हजार नेपाली निगरानीमा छन् भने दुई जना पक्राउ परेका छन् । इमेल पाएपछि डिपोर्ट हुने त्रासमा रहेका उनीहरूले आफू ठगिएको भन्दै लिस्बनस्थित दूतावासमा उजुरी दिएका छन् । यो प्रकरणपछि पोर्चुगलका राजदूत प्रकाशमणि पौडेलले एआइएमका अध्यक्षलाई भेटेर मौका दिन आग्रह गर्नुभएको थियो ।

हालै नेपाली दूतावासको उद्घाटनमा जानुभएका परराष्ट्र सचिव अमृतबहादुर राईले पनि यस विषयमा समकक्षीसँग छलफल गर्नुभएको थियो । नेपालीहरू ठगिने क्रम सुरू भएको थियो-सन् २०२४ को अप्रिलबाट । पोर्चुगलको अवैतनिक महावाणिज्यदूतावास बन्द भएपछि प्रहरी रिपोर्टमा छाप लगाउन फ्रान्स जानुपर्ने अवस्था आइलाग्यो, जुन सम्भव थिएन ।
महावाणिज्य दूतावास बन्द भएदेखि दूतावास स्थापना नभइसक्दाको १० महिनाको अवधिमा गिरोहमार्फत नक्कली छाप र हस्ताक्षर प्रयोग भएको पीडितहरूको भनाइ छ । जसबाट १० हजारभन्दा बढी नेपाली पीडित बनेको पोर्चुगलमा रहनुभएका सम्मरबहादुर कार्कीले बताउनुभयो ।
सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षरका लागि गिरोहले प्रतिव्यक्ति दुई सय युरोदेखि पाँच सय युरोसम्म लिएको उहाँको दाबी छ । नक्कली छाप प्रकरणमा गैरआवासीय नेपाली संघका पदाधिकारी पनि संलग्न भएको आरोप लागेको थियो । एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जीसीले भने केही संलग्न देखिए कडा कारबाही गर्ने बताउनुभयो ।
पोर्चुगलको एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय-एआइएमले युरोपेली तथा गैरयुरोपेली मुलुकबाट पुगेका नेपालीहरुका टीआरसी आवेदनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । पोर्चुगलमा कानुनी हैसियतमा ४० हजार नेपाली रहेकामा टीआरसी लिने प्रक्रियामा रहेकाको संख्या १० हजारभन्दा बढी रहेको अनुमान छ ।
गत बिहीबार लिस्बनस्थित नेपाली दूतावासले गरेको नेपाली समुदायसँगको अन्तरक्रियामा पनि परराष्ट्र सचिव अमृतबहादुर राईले यो घटनाको सत्यतथ्य बुझेर तत्कालै प्रतिवेदन तयार गर्न दूतावासलाई निर्देशन दिनुभएको थियो ।