सर्लाही । फागुन २१ को आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लाको सुरक्षा समितिले जिल्लाभरका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलको सूचीमा राखेको छ ।
प्रधानमन्त्रीका दाबेदार कांग्रेस सभापति गगन थापा उम्मेदवार रहेको सर्लाहीकै क्षेत्र नम्बर ४ मा त सबै ८१ वटै मतदानस्थल अति संवेदनशील सूचीमा छन् । किन त ? स्थलगत रिपोर्टिङका क्रममा सर्लाही पुगेका हाम्रा सहकर्मीहरूले यसको कारण खोतल्ने प्रयास गर्नुभएको छ ।
सर्लाही, भारतसँगको ६४ किलोमिटर लामो खुला सीमासँग जोडिएको छ । त्यसमा पनि क्षेत्र नम्बर ४ का बलरा र गडैता नगरपालिका तथा विष्णुपुर र रामनगर गाउँपालिका भारतीय भू-भागसँग जोडिएको छ । यद्यपि, भारतसँग सीमा जोडिएकैले मात्रै क्षेत्र नम्बर ४ का सबै मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको होइन । कि मतदानको दिन, कि मतगणनाका बेला- सर्लाही ४ मा कुनै न कुनै तनाव उत्पन्न हुने गरेकै छ ।
२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ६ रहेको यहाँ मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएको थियो । गढैया मतदान केन्द्रबाहिर त बम विस्फोट नै हुँदा हाल रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहका दाजु शम्भु सिंहको मृत्यु भएको थियो।
२०७४ र ०७९ को निर्वाचनमा पनि यहाँ मतगणनाका क्रममा झडप भए । मानिसहरू घाइते भए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर नै गर्नुपरेको थियो । गुण्डागर्दी र बलमिच्याइँको तनावपूर्ण विगतकै कारण यसपटक पनि यहाँका उम्मेदवार र मतदाताहरूमा भय देखिन्छ ।
चुनावका बेला उम्मेदवार र तिनका समर्थकहरूबीचको झडप, बुथ कब्जाको प्रयासलगायतका गतिविधि हुने गरेकाले सर्लाही ४ का सबै मतदानस्थल अति संवेदनशील मानिन्छ । जिल्लाभर ३ सय ३४ वटा हतियार दर्ता भएकोमा ६४ वटा मात्रै आफूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्याङ्क छ । यहाँ घरेलु र अवैध हातहतियारको समेत डर छ ।
आफ्नो सुरक्षा रणनीति सार्वजनिक गर्न नमिल्ने बताउने सर्लाही प्रहरी चुनावका बेला सक्रिय हुनसक्ने नेपाल भारत दुवैतिरका आपराधिक पृष्ठ भूमिका व्यति समूहप्रति सचेत रहेको देखिन्छ । सर्लाही ४ अतिसंवेदनशील मानिएको यहाँका हेभिवेट उम्मेदवारहरूका कारण पनि हो ।
नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको सभापति गगन थापा, ०७९ मा दल त्यागेर स्वतन्त्र उठी विजयी भएका अमरेशकुमार सिंह र उनलाई ०६४ को निर्वाचनमा पराजित गरेका तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन यादव तीनै जनाको टकराव यसपटक पनि देखिन्छ ।
फरक यत्ति हो, यादव यसपटक आफैँ उम्मेदवार छैनन्, उनले छोरा अमनिशकुमारलाई नेकपा (एमाले)बाट प्रतिस्पर्धा गराउँदै छन् । तर, विस्तारै विकासको मूलमार्गतिर हिँडिरहेको यो क्षेत्रमा यसपटक चाहिँ सुरक्षा निकायको उल्लेख्य उपस्थिति देखियो । सुरक्षा निकायले पनि गस्ती, निगरानी र आकस्मिक सुरक्षा टोली तयारी अवस्थामा राखिएको बताएको छ भने नेपाली सेनाको टोली पनि नियमित पेट्रोलिङमा छ ।