
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा पुर्याएर अनलाइन ठगीमा फसाउने कार्य बढ्दै गएको छ ।
गिरोहले दक्षिण-पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अनलाइन ठगी केन्द्रमा फसेका नेपालीको उद्धारका लागि थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासमार्फत सक्रिय पहल भइरहेको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कम्बोडियामा मात्रै २ सय ४८ नेपाली उद्धारको पर्खाइमा छन् । उहाँकाअनुसार सन् २०२२ यता हालसम्म ३ सय ९२ नेपालीको उद्धार गरिसकिएको भए पनि ती देशमा अझै कति नेपाली फसिरहेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।
आकर्षक तलव र सुविधाको आश्वासन दिई उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीसम्बन्धी गतिविधिमा संलग्न गराउने र तोकिएको लक्ष्य पूरा गर्न नसके शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको सहसचिव अधिकारीले बताउनुभयो ।