धनगढीमा उखरमाउलो गर्मी : जनजीवन प्रभावित

सर्वसाधारणलाई हिँडडुल गर्नै सकस
जेष्ठ ४, २०८१ |टेकराज जोशी
धनगढीमा उखरमाउलो गर्मी : जनजीवन प्रभावित

धनगढी । उखरमाउलो गर्मीका कारण धनगढीको जनजीवन प्रभावित भएको छ ।

धनगढीसहित तराईका भूभागमा तापक्रम बढेसँगै सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो । धनगढीको तापक्रम आज ४२ डिग्रीसम्म पुगेको छ । गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाजका साथै हिँडडुल गर्नसमेत सकस भएको छ ।

मजदुरी गरेर गुजारा गर्नुपर्नेहरु झनै प्रभावित बनेका छन् । मध्याह्नको समयमा चल्ने तातो हावाका कारण बजारमा सर्वसाधारणको चहलपहल पनि घटेको छ । चर्को गर्मीसँगै सडकमा उड्ने धुलो र अनियमित विद्युत्‌कै कारण पनि सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

यस्तै गर्मीसँगै अस्पतालमा बिरामीको चाप पनि बढेको छ । गर्मीबाट सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । पछिल्लो केही दिनयता गर्मी बढेपछि अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ ।

आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने

धनगढीको सेती प्रादेशिक अस्पताललगायत यहाँका अन्य अस्पतालहरूमा बिरामी बालबालिकाले वार्ड भरिएका छन् । झाडापखाला लाग्ने, बान्ता हुने र टाइफाइडबाट बालबालिका प्रभावित भएको सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले बताउनुभयो ।

उहाँका अनुसार सेती अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी बिरामी बालबालिका भर्ना हुने गरेका छन् । जिल्लाका अन्य अस्पतालमा पनि बिरामी बालबालिकाको संख्या दिनहुँ बढेको मिश्र बताउनुहुन्छ ।

दिउँसोपख अत्यधिक तातो हावा चलिरहेकाले बालबालिकालाई जोगाउन तथा शरीरमा झोलिलो पदार्थको मात्रा बढाउन डा. मिश्रको सुझाव छ । त्यस्तै मौसमअनुसारको सागपात, फलफूलको सेवन गर्न तथा सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखान उहाँले सुझाउनुभयो ।

यसैबीच आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ ।

हेर्नुहोस् टेकराज जोशीका थप स्टोरी ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement