काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबारबाट शुरु भएको १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताउनु भयो ।
राष्ट्रपति पौडेलले सच्चा न्यायका लागि स्वतन्त्रता आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने पनि बताउनु भयो ।
राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको पनि बताउनु भयो ।
उहाँले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नु भन्दा कर्ताको कर्ममै प्रतिविम्वित हुनुपर्ने बताउनु भयो । उहाँले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरुरी रहेको पनि औंल्याउनु भयो ।
'न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महशुस गरिनुपर्छ । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति सचेत हुन निर्देश गर्दछ, राष्ट्रपति पौडेलले भन्नुभयो, 'यसको सच्चा पहरेदार नेपाल बार एसोसिएसनसँग आवद्ध विद्वान कानुन व्यवसायी हुन् भन्ने विश्वास छ ।
राष्ट्रपतिले बार र बेन्च बीचमा बेला-बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने बताउनु भयो ।