नापी कार्यालय सिरहाका कर्मचारीले हाकाहाकी लिए घुस

जग्गा कित्ताकाट गर्दा ४० हजारको मोलमोलाई, २० हजारमा डिल
कारबाही गर्नबाट पन्छिए प्रमुख जिल्ला अधिकारी
जेष्ठ २, २०८१ |विनय आजाद
नापी कार्यालय सिरहाका कर्मचारीले हाकाहाकी लिए घुस

सिराह । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी निकायका उच्च अधिकारीहरु सम्मले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा पटक-पटक गर्ने गर्छन् । नागरिकलाई सहज सेवाको प्रतिबद्धता दोहोर्‍याउन छाड्दैनन् । तर, सरकारी कार्यालयमा भने भ्रष्टाचार र अनियमितताको अवस्था उस्तै छ । अझ नापी, मालपोतजस्ता कार्यालय त झन् घुसको अखडाकै रुपमा बदनाम छन् । सिरहास्थित सहकर्मी विनय आजादले नापी कार्यालय सिरहाका कर्मचारीले हाकाहाकी घुस लिने गरेको फेला पारेका छन् ।

नापी कार्यालय, सिरहामा विना घुस कामै नहुने व्यापक जनगुनासोपछि हामी बुधबार कार्यालयमै गयौं । सेवाग्राहीसँग कुरा गर्दै जाँदा हामीले एकजना यस्तै पीडित भेटायौं । विजयकुमार यादवलाई कित्ताकाट गराउनुपर्ने थियो । अंश मुद्दामा मिलापत्र भएपछि कित्ताकाटका लागि उहाँ एक महिनादेखि नापी धाइरहनुभएको छ । तर, उहाँको कामै भएको छैन । कारण हो- घुस दिन नसक्नु ।

नापी सर्वेक्षक जितेन्द्रकुमार ठाकुरले उहाँलाई कित्ताकाटका लागि ४० हजार खर्च लाग्ने बताउनुभयो । तर, उहाँले आफू गरिब भएको भन्दै यसै काम गरिदिन अनुनय गरिरहनुभयो । तर, कर्मचारी मानेनन् । बार्गेनिङपछि उहाँ २० हजारमा काम गरिदिन तयार हुनुभयो ।

आज उहाँ २० हजार बोकेर काम गराउन नापी आउनुभएको थियो । हामीले उहाँलाई पैसा दिन रोक्यौं र घुस माग गरेको कुरा रेकर्ड गर्न लगायौं । हाम्रो योजनाअनुरुप पीडित सेवाग्राहीले कर्मचारीलाई २० हजारभन्दा पनि कम गरिदिन आग्रह गर्छन् । तर, कर्मचारीले भने त्योभन्दा कम हुँदै नहुने भनेका छन् । र, उहाँलाई जतिबेला पनि २० हजार लिएर आउनु अनि काम गराउनु भनेका छन् ।

यो स्टिङ अपरेशनपछि हामीले ती कर्मचारीलाई यसरी घुसबाट उठाउने पैसा आफैँले राख्ने गरेको कि बाँडफाँट गर्ने गरेको छ भनेर सोध्यौं । तर, उनी कार्यालय प्रमुख विशालकुमार झाको मुखतिर हेर्दै केही पनि भनेन् । यस विषयमा कार्यालय प्रमुख झा हाम्रो क्यामेरामा प्रतिक्रिया दिनै तयार हुनुभएन । बरु उहाँले हामीलाई समाचार रोकिदिन आग्रह गरिरहनुभयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले यो अख्तियारसँग सम्बन्धित विषय भएको र आफ्नो क्षेत्राधिकारको विषय नभएको गैरजिम्मेवार प्रतिक्रिया दिँदै पन्छिनुभयो ।

नापी कार्यालयलगायत सिरहाका सरकारी अड्डाहरूमा घुसबिना कामै नहुने कुरा ओपन सेक्रेट जस्तै छ । जसलाई यो घटनाले पुष्टि नै गरेको छ । यस विषयमा सरोकारवाला निकायका जिम्मेवार भनिएका पदाधिकारीहरुको गैरजिम्मेवार रबैया र जवाफले उनीहरूको भूमिकामाथि शंका गर्ने ठाउँ दिएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।