काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकका विषयमा छलफल हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज कतारका अमिरको दुईदिने नेपाल भ्रमणको तालिका सार्वजनिक गर्दै वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्ताका क्रममा नेपाली श्रमिकबारे कुराकानी हुने जनाएको हो ।
कतारमा तीन लाख ६७ हजार नेपाली श्रमिक कार्यरत छन् । प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीको उपस्थितिमा दुई देशबीच सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
कतारका अमिर वैशाख ११ गते (मंगलबार) मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिले अमिरको स्वागतमा रात्रिभोज दिनुहुनेछ । उहाँलाई एक जोडी हात्ती उपहार दिने सरकारको तयारी छ । योसँगै हात्तीका सुसारे पनि कतार पठाउने तयारी सरकारले गरेको छ । कतारका अमिर बुधबारै कतार प्रस्थान गर्नुहुनेछ ।