कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?

चितवन । नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो ।

२०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा खगेन्द्रप्रसाद सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किंदै छन् । पाँच वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आउनुभएको छ ।

कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको हो । हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र मध्येको एक हुन् खगेन्द्र । खगेन्द्रले पर्यटकहरुलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेका छन् ।

बिहान ५ बजे उठेदेखि नै माहुते जदु खगेन्द्रको रेखदेखमा जुट्नु हुन्छ । बिहान खानेकुरा कुची खुवाइसकेपछि उहाँले खगेन्द्रलाई राप्तीमा लगेर नुहाउने र दिनभर जंगलमा घुमाएपछि अपराह्न पुनः तालिम केन्द्रमा ल्याउनुहुन्छ । यो समयमा पर्यटकहरुले उनीहरुलाई अवलोकन गर्न आउँछन् ।

यसरी हुर्कंदै गरेका खगेन्द्रलाई अब भने पर्यटकले देख्न पाउने छैनन् । उनी छिटै विदेशी भूमि कतार जाँदै छन् । नेपाल सरकारले कतारका राजाको नेपाल भ्रमणको क्रममा दुईवटा हात्ती उपहार दिने निर्णय गरेसँगै खगेन्द्रको कतार यात्रा निश्चित भएको हो । वर्षौंदेखि रेखदेख गर्दै आउनुभएका माहुते जदुलाई यो निर्णयले केही खुसी तुल्याएको त छ नै तर उतै छोडेर आउनुपर्दा भने दुःखी बनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी यिनी साढे ५ वर्षीया टुहुरो पोथी छावा रुद्रकली । हात्ती प्रजनन् केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली ३ महिनाको छँदा पूजाकलीको मृत्यु भएपछि टुहुरो भइन् । त्यसले गर्दा उनलाई कुनै समस्या नहोस् भनेर कम्तीमा दुई जनाले रेखदेख गर्दै आइरहेका छन् ।

पूजाकलीको पाँच सन्तानमध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचार्य पनि खगेन्द्रको जस्तै छ । उनले पनि धेरै कुरा सिकिसकेकी छन् । दिउँसो समयमा माहुतेले जंगलमा डुलाउन लैजाँदा उनी न गैंडासँग डराउँछिन् न बाघसँग । निडर स्वभावको रुद्रकलीलाई माहुतेले इमानदार हात्तीका रुपमा लिन्छन् । अब रुद्रकलीलाई पनि माहुतेले नेपालमा रेखदेख गर्न पाउने छैनन् । खगेन्द्रसँगै रुद्रकली पनि उपहार स्वरुप कतार जाने भएकी छन् ।

खगेन्द्र र रुद्रकली दुवै स्वस्थ छन् । इमानदार, स्वस्थ र विदेशमा पनि सहज रुपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार स्वरुप पठाउन लागिएको हो । यी दुवै हात्ती गत वर्ष तालिम लिनेमध्येका उत्कृष्ट हुन् । त्यसैले उपहार दिँदा राम्रो हात्ती दिने सरकारको आदेशअनुसार खगेन्द्र र रुद्रकलीलाई दिने तयारी गरिएको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका शाखा अधिकृत मनपुरन चौधरीको भनाइ छ ।

नेपाल सरकारले हात्तीसँगै उनीहरुलाई रेखदेख गर्दै आइरहेका माहुतेहरुलाई पनि सँगै कतार पठाउने तयारी गरेको छ । हालसम्म विभिन्न देशहरुलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ । हालसम्म सबैभन्दा धेरै २६ वटा गैंडा उपहार दिइएको छ । हात्ती उपहार भने पहिलोपटक दिन लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.