डोल्पामा डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना सख्त घाइते

चैत्र २६, २०८० |सरोज थापा
डोल्पामा डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना सख्त घाइते

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका ३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका ४ जना सख्त घाइते भएका छन् ।

डोल्पाको सदरमुकाम दुनैनजिकैको ठुलीभेरी नगरपालिका ३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको डढेलो नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना आगो निभाउने क्रममा सख्त घाइते भएका हुन् । आगो निभाउन देवीदत्त गुल्मबाट गएका १६ मध्ये १२ जना सामान्य घाइते भएको गुल्मले जनाएको छ ।

आगलागीमा परी सख्त घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केशरबहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत छन् । सख्त घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौं लैजान  लागिएको सेनाले जनाएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।