सुनसान बन्यो काँडागाउँ, युवाजति ‘कालापहाड’

चैत्र २४, २०८० |वसन्तप्रताप सिंह
सुनसान बन्यो काँडागाउँ, युवाजति ‘कालापहाड’

बझाङ । युवाजति धमाधम भारत (कालापहाड) पस्न थालेपछि बाजुराका गाउँ युवाविहीन भइरहेका छन् । गाउँमा गरिखाने मेसो नभेटेका नागरिक घरमा ताला लगाएर भारततर्फ जाने क्रम बढ्दै जाँदा त्यहाँका गाउँहरू सुनसान बनेका हुन् ।

खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने काँडागाउँ निकै सुन्दर छ । खेतमा गहुँ, जौ बयेली खेलिरहेका छन् । हरियाली खेत र गह्राका बीचबीचमा बनेका परम्परागत घरहरुले यो बस्ती मनमोहक देखिन्छ । खप्तड छेडेदह गाउँपालिका १, मा पर्ने यो गाउँ पस्यो भनेचाहिँ अधिकांश घरमा ताल्चा झुन्डिएको देखिन्छ । जुन घरका मूल ढोका खुला छन्, तिनलाई ज्येष्ठ नागरिकहरुले रुँगिरहेका छन् ।

‘घरमा ताल्चा मारेर यहाँका मानिस परिवारसहित भारत गइसकेका छन् । लामो समय मानिसले नचर्चिएका केही घरहरु खण्डहर बनेका छन् । गाउँमा आम्दानीको स्रोत नभेटेपछि गाउँलेहरुलाई घर खाली गरेर मजदुरी गर्न भारत जानुपर्ने बाध्यता छ,’ खप्तड छेडेदह गाउँपालिका बाजुराका पदम नेपालीले भने । युवाजति सबै भारत जाँदा गाउँको खेतीपाती लगायतको कामको बोझ ज्येष्ठ नागरिकले बोक्नुपरेको स्थानीय हरिना साउदको भनाइ छ । घरमा एक्लै हुनेहरुलाई घर व्यवहार धान्न र वस्तुभाउ स्याहार्न सकस भएको झिमा नेपाली बताउँछिन् ।

भारत (कालापहाड) मा कमाउन जाने चलन पुरानै भए पनि पछिल्ला केही वर्षदेखि भने घरै रित्तो बनाएर पलायन हुँदा गाउँ सुनसान बन्न थालेको हो । यो गाउँपालिकाको सबैजसो गाउँको कथा काँडागाउँको भन्दा फरक छैन । गाउँ नै रित्तिने अवस्था आउँदा पनि त्यसलाई रोक्न सरकारी पहल भएको भने देखिँदैन ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।