भत्किएका राजमार्ग, दुर्घटनाको जोखिम : चालक भन्छन्- जिन्दगीको टुंगै छैन

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे
चैत्र २४, २०८० |जे पाण्डे|चक्र भण्डारी |वरुण पनेरू
भत्किएका राजमार्ग, दुर्घटनाको जोखिम : चालक भन्छन्- जिन्दगीको टुंगै छैन

बाँके । पश्चिम नेपालका उत्तर पहाडी र हिमाली क्षेत्रका राजमार्गहरु भत्किएर जोखिमयुक्त भएका छन् । सरकारले यस्ता ठूला राजमार्गलाई रणनीतिक सडकको संज्ञा दिँदै आएको छ । तर राजमार्ग सुरक्षित तुल्याउने प्रभावकारी रणनीति नभएकाले भत्केका र जीर्ण मार्गमा गुड्ने सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् भने यात्रुहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।

सबैभन्दा जीर्ण र जोखिमयुक्त कुनै मार्ग छ भने त्यो हो कर्णाली राजमार्ग । कतिपयले त यसलाई मृत्यु मार्गको संज्ञासमेत दिँदै आएका छन् । यस्तो मार्गमा यात्रु र मालवाहक गाडी चलाउँदै आएका चालकहरुमध्येका गणेश खड्का सडक मर्मत सुधार नहुँदा पहिरोमा गाडी हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कुन बेला के हुने हो ? जिन्दगीको टुंगो नै नभएको बताउँछन् ।

अति नै साँघुरो त्यसमाथि पनि मोडैमोड । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे । जताततै पहिरो । ठुल्लठुला खाडल । कहालीलाग्दो भिरको बाटो यात्रा गर्नुपर्दा सकुशल घर पुगिने हो वा होइन ? भन्ने त्रास र चिन्ताबाट मुक्त हुन नसकेका यात्री बलबहादुर शाही सुरक्षित साथ ढुक्क भएर यात्रा गर्न सकिने दिन पनि आउलान् त ? भन्दै प्रतिप्रश्न गर्छन् ।

बर्खा लाग्ने बेला भइसक्यो । राजमार्गमा पर्ने पुलहरुको मर्मत-सम्भार हुन सकेको छैन । कतिपय स्थानमा पुल छैनन् । सुधार कार्यमा निर्माण व्यवसायीले गर्ने ढिलाइ र बजेट अभाव राष्ट्रिय राजमार्गको संरक्षणमा चुनौती बनेको छ । सोचेभन्दा फरक स्थानमा पहिरो जानेजस्ता समस्याले पनि उत्तिकै कठिनाइ निम्त्याउने डिभिजन सडक कार्यालय नेपालगन्जका डिभिजन प्रमुख नीरज शाक्यको बुझाइ छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यस्ता राजमार्गमा झर्ने पहिरो नियन्त्रण गर्न र खाल्डा-खुल्डीरहित तुल्याउन नसक्दा यात्रुहरु उच्च जोखिममा पर्दै आएका छन् । मन्त्रालयका अधिकारीहरु भने पुरानै राजमार्ग सुधार गर्न र कर्णाली केन्द्रित भएर थप राजमार्ग विस्तार गर्न उच्च हिमाली र पहाडी भूगोल समस्या ठान्छ । जसका कारण मुगु, डोल्पा र हुम्लालाई राजमार्गले जोडन नसक्दा विकट क्षेत्रका बासिन्दा संकटमा छन् ।

हुम्लामा यो वर्ष राजमार्ग जोड्ने योजना भए पनि राजमार्गमा पर्ने नदीमा पुल बनाउने योजना छैन । डोल्पातिरको मार्गलाई पनि कालोपत्रे गर्दै छ । तर बजेट अभाव छ । उस्तै बेहाल छ सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्गहरुको पनि ।

बजेटबाहेक उपकरण बिग्रँदा मर्मत गर्न नेपालगन्ज आउनुपर्ने समस्या देखिएको छ । अवश्यकताअनुरुप बजेट नहुँदा सडकको स्तरोन्नति हुन नसकेको हो ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।

Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।