भूमाफियाले रजगज गर्दा पनि जग्गा फिर्ता ल्याउन त्रिविको बेवास्ता

चैत्र २१, २०८० |रमेश धमला
 भूमाफियाले रजगज गर्दा पनि जग्गा फिर्ता ल्याउन त्रिविको बेवास्ता

काठमाडौं । तपाईंलाई लाग्न सक्छ त्रिभुवन विश्वविद्यालयको जग्गामा शैक्षिक गतिविधिका लागि भौतिक संरचना मात्रै छन् । तर होइन त्यहाँ प्रहरी चौकी, पेट्रोल पम्प, बसपार्क, होटल तथा खाजा घर, निजी स्कुल, नर्सरी तथा धार्मिक संस्था र राजनीतिक आस्थाका स्मारकहरु पनि छन् । खोजी गर्दै जाँदा हामीले त्रिविको जग्गामा अनधिकृत रुपमा बसेको सिंगो बस्ती नै भेटेका छौं । 

राजनीतिक हस्तक्षेपले थला परेको प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयको भौतिक सम्पतिमा भूमाफिया,अतिक्रमणकारी र संरक्षणकर्ताकै रजाइँ चलेको छ । त्रिविको आफ्नो मातहतमा देशभर झण्डै १५ सय हेक्टर जग्गा छ । तर काठमाडौंमा मात्रै २ हजारभन्दा धेरै रोपनी जग्गामा अरुकै रजगज हुँदा पनि फिर्ता लिन र संरक्षण गर्ने त्रिविले सकेको छैन । काठमाडौं बाहिरको जग्गाको खोजि हुन त बाँकी नै छ । विश्वविद्यालय नेतृत्वले भने सम्पतिको संरक्षण गर्ने जिम्मेवारी बिर्सेर राजनीतिक लाभहानीको स्वार्थ हेर्दै एक दर्जनभन्दा बढी संस्थालाई सम्पत्ति बाँडिरहेको छ । 

अवैधानिक कब्जामा रहेका जग्गा त्रिविकै नेतृत्वले बाँडेका हुन् । उनीहरूले कसको निर्देशनमा बाँडे त्यो समेत छानबिन गरेर सबैमाथि कारवाही र त्रिविको जग्गा फिर्ता गराउनु अहिलेको आवश्यकता छ । नैकापको त्रिविको जग्गा काठमाडौं भित्रै भूमाफियाले कब्जा गरेर ४५ लाख रुपैयाँ आनाका दरले किनबेच समेत गरिरहेका छन् । यति हुँदा पनि विश्वविद्यालयलाई कुनै चिन्ता छैन । अदालतले मुद्दा जिताइदिँदा समेत त्रिविले आफ्नो जग्गा फिर्ता ल्याउन वा कारबाहीका लागि दबाब दिन सकेको छैन ।

उच्चशिक्षा अध्ययन र अनुसन्धान हुने मुलुककै पुरानो त्रिभुवन विश्वविद्यालय बेथितिको चंगुलमा फसेको छ । त्यहाँ शिक्षामा त बेहाल छ । कुन दलले कुन पदमा कब्जा जमाउने भन्ने होडमा न शिक्षा राम्रो छ न सम्पति नै जोगाउन सकेको छ । शिक्षा दलीय दलदलले अस्तव्यस्त त छ नै सम्पति पनि त्रिविले जोगाउन सकेको छैन ।

उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता मुख्यपद बिलो लगाएर भागवण्डा हुँदै आएको छ । प्राज्ञिक पात्रहरू विश्वविद्यालयमा गुणस्तरीय शिक्षा दिन हैन, राजनीतिक दलका कार्यालय र नेताका घरमा पद लिन दौडधुप गर्छन् । परीक्षा भैसकेपछि उत्तरपुस्तिका हराउँछन् । शिक्षक र विद्यार्थीको तालाबन्दीमा प्रतिस्पर्धा चल्छ । शिक्षामा राजनीति बढ्दो छ भने रोजगारका अवसर घट्दो छ। जसका कारण वर्षेनी एक लाखभन्दा बढी विद्यार्थी अध्ययनकै लागि देश छाडिरहेका छन् । यस्ता बेथिति अरु धेरै छन्। तर चिन्ता कतै देखिन्न । शिक्षा राम्रो नदिने अनि शिक्षाका लागि दाताले दिएका जग्गामा पहुँच र राजनीतिक चलखेलका आधारमा मनपरि बाँडेर रजाँई गर्ने प्रवृत्ति विरुद्ध गम्भीर छानबिन आवश्यक छ ।

त्रिविको जग्गामा रजाइँ गर्दै नैकापमा एउटा सिंगै बस्ती नै बस्दा पनि राज्य बेखबर छ। त्रिविको लापरबाही र भूमाफियाको कब्जामा परेको यो जग्गामा अहिले ३ सयभन्दा बढी घर नै बनेका छन् । यसरी राज्यको सरकारी जग्गाको अपचलन गर्नेलाई अनुसन्धान र कारबाही गरि त्रिविको जग्गा फिर्ता गराउन ढिला नहोस् ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।