जेन-जी आन्दोलनमा शहीद भक्तपुरका दुई युवा : अभिषेक र महेशको बलिदानले देशमा परिवर्तनको आशा जगायो

आश्विन २, २०८२ |सुन्दर शिल्पकार
जेन-जी आन्दोलनमा शहीद भक्तपुरका दुई युवा : अभिषेक र महेशको बलिदानले देशमा परिवर्तनको आशा जगायो

भक्तपुर । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भक्तपुर दुवाकोटका २ युवा पनि शहिद भए । 

देशमा भएको भ्रष्टाचार बेथितिविरुद्धको आन्दोलनमा सहभागि २ युवा परिवारको सहारा प्रहरीको गोलीसँगै ढलेको छ । तर उनीहरूको सपना भने ढलेको छैन ।

दोलखा शैलुङ गाउँपालिका स्थायी घर भएका २१ वर्षीय अभिषेक चौलागाईंको परिवार केहि वर्षयता भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा बस्दै आएको थियो । 

अभिषेकका बुवा दिनेश प्रहरी सेवामा २३ र २४ गते भक्तपुरको सल्लाघारीमा डिउटीमा खटिनुभएको थियो । यता अभिषेक भने जेन-जी आन्दोलनमा सहभागी भएर भदौ २४ गते संसद् भवनभित्र प्रहरीको गोली लागेर ढल्नुभयो । 

आमाबुवाले विदेश पठाउन चाहना राखिरहँदा अभिषेक भने देशमै केही गर्नुपर्छ भनेर १२ कक्षापछि त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्त पढ्न थाल्नुभयो । बुवा डिउटीमा भएकाले आमाले आन्दोलनमा नजान गरेको आग्रहमा देशका निम्ति चुप लागेर बस्न नहुने भन्दै आमालाई सम्झाएर दिनेश दुवै दिन नै आन्दोलनमा सहभागी हुनुभयो ।

दोलखाको विगु गाउँपालिका स्थाई घर भई हाल नरेफाँटमा बसोवास गर्दै आएका २२ वर्षीय महेश बुढाथोकीको पनि भदौ २४ गते कोटेश्वमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भयो । महेशको काजकिरियाका लागि उहाँको परिवार हाल दुवाकोटस्थित किरियापुत्री घरमा छ ।

महेश आफ्नी आमा दिलकुमारी बुढाथोकीको सहारा हुनुहुन्थ्यो । उहाँले एक वर्षअघिदेखि क्यान्सरपीडित आमाको उपचार गराइरहनुभएको थियो । उहाँहरुको साहार पनि जेन्जी आन्दोलनको क्रममा ढल्यो । तर छोराले देशको निम्ती ज्यान गुमाएपनि देशमा भएको भ्रष्टाचार र व्यथितिको अन्य होस् भने चाहना महेशको बुवाको छ ।

अभिषेक र महेशजस्तै धेरै युवाहरूले भ्रष्टाचार र व्यथितिको अन्त्यका लागि लडेर अहिले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार गठन भएको छ । सरकारले शहिदले देखेको आमूल परिवर्तनको सपना पूरा गरोस् भन्ने शहिद परिवारको चाहना छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।