५ वर्षदेखि वीरगन्ज बन्दरगाहमा थन्किएका ३९१ कन्टेनरको लिलामी सुरु

चैत्र २०, २०८० |उपेन्द्र ठाकुर
५ वर्षदेखि वीरगन्ज बन्दरगाहमा थन्किएका ३९१ कन्टेनरको लिलामी सुरु

वीरगन्ज । वीरगन्जस्थित सुक्खा बन्दरगाहको यार्डमा बेवारिसे अवस्थामा थन्किएका तीन सय ९१ वटा मालवाहक कन्टेनरमा भएका सामानहरूको मालिक अहिलेसम्म भेटिएको छैनन् । आयातकर्ताले जाँचपास नगराउँदा झन्डै पाँच वर्षदेखि बन्दरगाह परिसरमा थन्किएका ती कन्टेनरका सामानहरूमध्ये पहिलो चरणमा ३७ कन्टेनरमा रहेका झण्डै ७१ करोड मूल्यको सामानको भन्सारले लिलामी प्रक्रिया अघि बढाएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका व्यवसायीका सामान बोकेर रेलमार्फत् वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डमा भित्रिएका कन्टेनरहरू बिगत पाँच वर्षदेखि यार्डमै थन्केर बसेका थिए । भन्सारमा आइपुगेको सामान ६० दिनभित्र जाँचपास गराएर लैजानुपर्ने कानुनी प्रावधान छ । तर लामो समयसम्म आयातकर्ताले जाँचपास नगराएर शंकास्पद अवस्थामा यार्डमा कन्टेनरहरू थन्केपछि भन्सारले मंसिर १० गते ७ दिने सूचना प्रकाशित गरी जाँच र लिलामी प्रक्रिया अघि बढाएको हो ।

कन्टेनर खोलेर भौतिक परीक्षण गर्दा ७० प्रतिशत कन्टेनरभित्र सडेगलेको अवस्थामा रहेको छोकडा, केराउ, सुपारी र पोस्ता दाना, ओखर जस्ता सामान फेला पर्यो । बरामद भएका सामानहरू सरकारले कोटा तोकेर आयात इजाजत दिएको प्रतिबन्धित किसिमका सामानहरू हुन् ।

यसका अलावा फर्निस आयल, प्लास्टिकका कार्पेट, मास र मुसुरोका दालजस्ता सामानहरू पनि फेला पर्यो । केही कन्टेनरमा त व्यवसायीले दाल भनेर सुपारी, मुंग्रेलो भनेर पोस्तादानाजस्ता सामान आयात गरेको पनि भेटियो । यसरी बरामद भएका सामानलाई सोझै लिलामी गर्ने, परीक्षण गरेर लिलामी गर्ने र नष्ट गर्ने गरी तीन चरणमा छुट्याएको छ ।

पहिलो चरणमा प्रयोग गर्न मिल्ने दाल, सुपारी, सोयामिल, पोस्ता दानाजस्ता सामान रहेको ३७ कन्टेनरमा रहेको झण्डै ७१ करोड मूल्य बराबरको सामान लिलामीमा राखेको छ । पछि लिलामी गर्दा पनि फरक नपर्ने श्रेणीमा रहेका फलाम, इलेक्ट्रोनिक सामान र ल्याब परीक्षणपछि मात्र लिलामी गर्न मिल्ने सामान भएको झण्डै एक सय कन्टेनरभित्र रहेको सामानलाई भन्सारले दोश्रो चरणमा लिलामी गर्ने र बाँकी नष्ट गर्नुपर्ने सामानलाई तेश्रो चरणमा नष्ट गर्ने जनाएको छ ।

नेपालमा यसरी आयात गरिने सामानहरू एलसी, टीटी र डिएपी गरि तीन प्रक्रियाबाट आयात गरिने भएकोले यी सामानहरू आयात गर्ने व्यपारीले वैदेशिक मुद्राको अपचलन गर्ने सम्भावनालाई मध्यनजर गर्दै सुक्खा बन्दरगाह भन्सार कार्यालयले बन्दरगाह व्यवस्थापन प्रिष्टिन भ्यालीसँग समन्वय गरी ६ वटा व्यवसायीलाई इमेल र हुलाकमार्फत् पत्र पनि पठाएको थियो । हुलाकमार्फत् पठाइएका ती पत्रहरू फर्केर आएको भन्सारले जनाएको छ । 


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।