त्रिभुवन विमानस्थलको उत्तरी विन्दुबाट तीन महिनासम्म जहाज अवतरण गर्न रोक

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विमानस्थलको उत्तरी विन्दुबाट तीन महिनासम्म जहाज अवतरण गर्न रोक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गका दुवै विन्दुमा भइरहेको निर्माणका कारण आजदेखि बौद्धतर्फको उत्तरी विन्दु (२०) बाट तीन महिनासम्म जहाज अवतरण गराउन नपाइने भएको छ ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी-वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले आजदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जनाए ।

नियमले काठमाडौंबाट आँखाको सहायताले हुने भिजुअल फ्लाइट रुल्स (भीएफआर) मा आधारित उडान उड्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । 

उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालक दलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी-वेबाट माथि जहाज लैजान पाउने छैनन् । काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजनाअनुसार, निर्माणका काम भइरहेका छन् ।

गुरुयोजनाअनुसार विमानस्थलको स्तरोन्नतिको काम गर्न १५ अर्ब रुपैयाँ लागतमा तीन फरक-फरक विदेशी निर्माण व्यवसायीले काम गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.