मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

चैत्र ६, २०८० |कान्तिपुर टीभी संवाददाता
मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

काठमाडौं । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा प्रहरी प्रधान कार्यलयले मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ जानकारी गराउन निर्देशन दिएको छ । कान्तिपुर टेलिभिजनले सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको समाचार हिजो प्रसारण गरेको थियो ।

उक्त विषयमा प्रहरी प्रधान कार्यलयले मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ जानकारी मागेको प्रहरी प्रधान कार्यलयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

‘हिजो हामीले कान्तिपुर टेलिभिजनमा त्यो समाचार हेरेका थियौं । उक्त समाचारका विषयमा मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ के हो भन्ने विषयमा सोधिसकेका छौं,’ उनले भने, ‘उहाँहरूले बुझेर त्यसमा कसैले गल्ती गरेको छ भने त्यसलाई कानुनी दायरामा ल्याउने कारबाही गर्ने भनेको छ । त्यो खालको तस्करी अन्य ठाउँमा पनि भइरहेको छ भने त्यसलाई कडाइका साथ रोक्नका लागि पहिले पनि निर्देशन गरिएको छ । अहिले पनि गरिएको छ ।’

नेपालको कुनै पनि ठाउँमा हुने त्यस्ता खालका तस्करी, गुन्डगर्दी र अपराधलाई रोक्नका लागि सम्पूर्ण अधिकृत जवानहरूलाई पनि निर्देशन गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

तस्करीमा आफ्ना कुनै पनि प्रहरी कर्मचारी संलग्न भए पनि कारबाही गरिने उनको भनाइ छ ।

सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको कान्तिपुर टेलिभिजनले भेटाएको थियो । यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको पाइएको हो ।

यस्तो त छ, मदिरा तस्करीसम्बन्धी कान्तिपुर टेलिभिजनले हिजो प्रसारण गरेको खोजमूलक रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement