दश वर्षे सशस्त्र द्वन्द्वको बलमा माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि पीडितले अझै न्याय पाएनन्

आफूहरूलाई सत्तामा पुग्ने भर्‍याङमात्रै बनाएको गुनासो
फाल्गुन १, २०८० |मीनराज रोका
दश वर्षे सशस्त्र द्वन्द्वको बलमा माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि पीडितले अझै न्याय पाएनन्

रोल्पा । रोल्पा नगरपालिका ६, कोटगाउँकी ६६ वर्षीया मेघमाली बुढामगरले तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाइन् भने एक छोराको अवस्था अझै अज्ञात छ । २०५८ साल चैत १५ गते राति उनका श्रीमान् प्रसाद बुढामगरलाई माओवादीले गोली हानेर हत्या गर्‍यो । श्रीमानको हत्या भएको ५ महिनापछि २०५९ साल साउनमा मेघमालीका जेठा छोरा हीराबहादुरलाई नेपाली सेनाले बेपत्ता बनायो । 

मेघामालीका श्रीमान् प्रसाद खेतीपाती गर्ने सामान्य किसान थिए भने छोरा हीराबहादुर दाङको घोराहीमा पढिरहेका भाइलाई भेट्न गएका बेला सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । राज्य र विद्रोही दुवै पक्षबाट पीडित मेघामालीले बेपत्ता छोरा खोजिदिन भन्दै गरेको हारगुहारको कतैबाट पनि सुनुवाइ भएको छैन ।

२०५८ सालमा तत्कालीन विद्रोही माओवादीले २४ वर्षका श्रीमान् तिलकराम नेपालीलाई अपहरण गरेको १८ औँ दिनमा हत्या गरेपछि मिना नेपालीको सिउँदो २३ वर्षमै पुछियो । माओवादीबाट श्रीमानको हत्या भएको एक महिनापछि उनले छोरी जन्माइन् । कहिल्यै बाबुको मुख नदेखेकी छोरीलाई मिनाले आर्थिक अभावकै उच्च शिक्षा पढाउन सकिनन् । श्रीमानको हत्या भएको २२ वर्ष पुग्दासमेत उनले न्याय पाएकी छैनन् ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला रोल्पाका ९ सय ६९ जनाले ज्यान गुमाए भने ३३ जना बेपत्ताको सूचीमा छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ हजार १ सय ३८ र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा १ सय २६ वटा उजुरी परेका छन् । माओवादी शान्ति प्रक्रियामा आएको दशकौं बितिसकेको र सशस्त्र युद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहालले तेस्रो पटक देशको सत्ता सञ्चालन गरिरहासमेत पीडितले न्याय नपाउनु दुखद भएको अधिकारकर्मी बताउँछन् ।

२०५२ साल फागुन १ गते राति रोल्पाको होलेरी, रुकुमको आठविसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा विभिन्न बैंकमा आक्रमण गरी तत्कालीन विद्रोही माओवादीले राज्यविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । त्यसको १० वर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पटकपटक सत्तामा पुग्यो । तर सशस्त्र द्वन्द्वको पृष्ठभूमि बोकेको पार्टीबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो भने पूरा हुन सकेन ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।