जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । माओवादीले जनयुद्ध सुरु गरेको दिनको अवसरमा शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवाद उन्मुख संविधानको निर्माण र कार्यान्वयन सोही जगमा सम्भव भएको बताएका छन् । ‘जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ, समावेशी लोकतन्त्र संस्थागत भएको छ,’ दाहालले शुभकामना सन्देशमा भनेका छन्, ‘मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारु समुदायलगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ ।’

माओवादीले नेतृत्व गरेको भए पनि जनयुद्ध परिवर्तन प्रेमी सबै नेपालीहरूको साझा दिवस भएको दाहालको भनाइ छ । जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा माओवादी केन्द्र यतिबेला प्रथम विधान सम्मेलनमा होमिएको छ । यस अधिवेशनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने दाहालको विश्वास छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.