मानव तस्करीमा परेकाहरुको उद्धार कठिन, ५ वर्षमा १४ सय आरोपी पक्राउ

दूतावासमै श्रम सहचारी राख्न प्रहरीको सुझाव
लचिलो बन्यो भिजिट भिसा नीति
माघ २८, २०८० |रमेश धमला
मानव तस्करीमा परेकाहरुको उद्धार कठिन, ५ वर्षमा १४ सय आरोपी पक्राउ

काठमाडौं । नेपालीहरु विदेशमा ठगिने र अलपत्र पर्ने क्रम बढ्दै गएका बेला सरकारले भिजिट भिसासम्बन्धी नीतिलाई अझै लचिलो बनाएको छ । अहिले भिजिट भिसाका लागि व्यक्ति आफैं जिम्मेवार हुने व्यवस्था गरिएको छ । नेपालबाट दैनिक विदेशिनेको संख्या जति बढ्दो छ, पीडित पनि बढ्दै गएका छन् । मानव तस्करीको सञ्जाल तोड्न कठिन हुँदा विदेशी भूमिमा अलपत्र परेकाहरुको उद्धार पनि उत्तिकै कठिन हुँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छाड्नेहरुको जति धेरै लर्को देखिन्छ, ठगिने र अलपत्र पर्नेहरु उत्तिकै संख्यामा बढ्दै गएका छन् । विदेश जाने रहर र बाध्यताको फाइदा अपराधी समूहले उठाइरहेका छन् । विशेष गरेर श्रमका लागि विदेश जान खोज्नेहरु नै भिजिट भिसाबाट सबैभन्दा धेरै पीडित भएका छन् ।

प्रहरीले मानव बेचबिखन गर्नेविरुद्ध कारबाहीका लागि विशेष ब्युरो नै स्थापना गरेर कारबाही चलाए पनि नियन्त्रण हुन सकेको छैन । प्रहरीको केन्द्रीय तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मानव बेचबिखनसम्बन्धी मात्रै ८९२ मुद्दा दायर भएका छन् ।

श्रमका लागि खाडी मुलुक जानेहरुको उद्धार र पठाउनेहरु माथिको कारबाही जटिल बन्दै गएको हो । मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता मात्रै विदेशबाट ६६९ जनाको उद्धार गरिएको छ । तीमध्ये मानव तस्करको प्रलोभनमा परेर भिजिट भिसामा जानेहरु १० महिनामा १३३ जनाको उद्धार भएको तथ्यांक छ ।

सबैभन्दा जोखिममा ओमन, कुबेत, दुबई, जोर्डन, मलेसिया, लाओस, इराक जानेहरु छन् । केही वर्षयता कल सेन्टरमा काम लगाउने भन्दै चिनियाँ आपराधिक समूहले म्यानमारमा समेत नेपाली लगेर अलपत्र पार्ने गरेको मानवबेचबिखन अनुसन्धान ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार मानव तस्करीको सञ्जालमा जोडिएका १९ सय आरोपीमाथि प्रहरीले कारबाही चलाएकामा आठ सय एकजना अझै फरार छन् । मानव तस्करसम्बन्धी कानुन नहुँदा व्यक्ति स्वयं एउटा भिसामा विदेश जाने र अर्कै काममा लाग्ने भएकाले पनि नियन्त्रण कठिन बनिरहेको प्रहरीको बुझाइ छ ।

त्यसो त नेपालीहरु रोजगारी अथवा अध्ययनका लागि पुगेका देशहरुमा प्रहरीले आफ्ना प्रतिनिधि राख्न सरकारलाई आग्रह गरेको आठ वर्ष भइसक्यो । मलेसिया, संयुक्त अरब इमिरेट्स र स्पेनजस्ता नेपाली धेरै जाने मुलुक तथा चीन र संयुक्त राष्ट्रसंघस्थित नेपाली दूतावासमा प्रहरी सहचारी राख्न प्रधान कार्यालयले अपिल गर्दै आएको छ । नेपालीहरु कामका लागि पुगेर अलपत्र पर्नेदेखि ठगिने र नेपालमा अपराध गर्नेहरु पनि त्यही लुकेर बस्ने क्रम बढेपछि ती देशहरुमा रहेको नेपाली दूतावासमै प्रहरी सहचारी राख्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल बताउँछन् ।

श्रमका लागि विदेश जान खोज्नु अधिकार भए पनि आफ्ना नागरिकको जीवनरक्षा गर्ने दायित्व राज्यकै हो । त्यसैले श्रमका लागि विदेश पुगेकाहरुबाट रेमिट्यान्सको अपेक्षा मात्रै होइन सुरक्षा पनि उत्तिकै जरुरी छ ।

यो पनि...

वैदेशिक रोजगारीमा ठगिएका पीडितको हारगुहार


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।