बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा लागेको ताला खुल्यो

रजिस्ट्रार र शिक्षाध्यक्ष दिनभर घेराबन्दीमा
माघ ५, २०८० |अर्जुन सुवेदी
बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा लागेको ताला खुल्यो

सुनसरी । उच्च अदालत विराटनगरले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/ नगराउन आदेश जारी गरे लगत्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुलेको छ । 

उपकुलपतिको कार्यकक्षमा धरान उपमहानगरका नगरप्रमुख हर्कराज राईले तालाबन्दी गरेसँगै परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊ सहित आदेश जारी गरेपछि शुक्रवार दिउसो ताला खुलेको हो । यसअघि उपकुलपति कार्यालयमा ताला लगाउन आफै पुगेका नगरप्रमुख राई खोल्न भने गएनन् । अदालतको आदेशपछि उनले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका हुन् ।

रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुखसहित ९ विपक्षीको नाममा उच्चले अन्तरिम आदेश सहित कारण देखाऊ आदेश जारी गरेको हो । सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी समेत ९ विपक्षी विरुद्ध उच्च अदालतकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो अस्पतालमा दैनिक हजारौँ बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हडताल, तालाबन्दी जस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गई रहेको अवस्थामा सार्वजनिक हितका लागि एवं नागरिकहरूको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संस्था, सङ्गठनहरूबाट बन्द हडताल, तालाबन्दी नगर्नू नगराउनू,’ जारी आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचार...

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा तालाबन्दी नगर्न उच्च अदालत विराटनगरको आदेश


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।