हुम्ला । तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी-पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिकाका ६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयो । उहाँले आफूसहित ४ जनाको टोली ४७ सय मिटरभन्दा माथिको स्थानसम्म पुग्दा हिमताल फुटेको फेला पारेको कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका- ६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा जेठ १ गते बिहीबार राति पानी नै नपरी एक्कासी बाढी आएको थियो ।
उक्त बाढी लगतै जोखिममा परेका १८ घरपरिवारका ३२ जनालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो । उनीहरु अहिले पनि त्रिपालमा बस्दै आएका छन् । जसमा २१ महिला, ९ जना पुरुष र २ बालक छन् ।
बिनावर्षा एक्कासी बाढी आउँदा त्रसित भएका स्थानीयले कारण खोज्दै खोलाको माथिल्लो भेगतिर जाँदा हिमताल फुटेको पत्तो पाएका हु्न् ।
लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पुर्याएको छ ।
१५ किलोवाट क्षमताको एउटा जलविद्युत गृहका साथै करिब ४ सय रोपनीमा सिचाइँ हुँदै आएको कुलोसमेत बगाएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।