धाप्लाङघाटको दूधकोशीमाथिको अलपत्र पुल पुन: बनाइँदै

माघ ५, २०८० |भोटराज राई
धाप्लाङघाटको दूधकोशीमाथिको अलपत्र पुल पुन: बनाइँदै

उदयपुर । लामो समय ठेकेदारले लथालिंग छाडेको उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटको दूधकोशी पुल पुनर्निर्माण थालिएको छ । निर्माणसँगै लापरबाहीमा नहोस् भन्दै खबरदारी र निगरानी बढाइएको कोशी प्रदेशका सांसद भूपेन्द्र राईले जनाए ।

गत २०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल स्वच्छन्द/रसुवा/पप्पु जेभी कम्पनीले अहिलेसम्म लथालिङ पारेको थियो । पुनः अर्को टेन्डरमार्फत सोही जेभीले २०८२ असार मसान्तसम्ममा सक्ने गरी काम थालेको हो । निर्माणको सुरुको अवस्थादेखि नै खोटाङका प्रदेश सांसद भूपेन्द्र राईको अगुवाइमा जनप्रतिनिधि र स्थानीय जनता निगरानीमा लागेका छन् । यसबाट स्थानीय उत्साहित छन् ।

पाँच स्पानमा बनाइने दुई लेनको दुई सय मिटर लामो पक्की मोटरेबल पुलको लगानी करिब २४ करोड रहेको छ । पुल खोटाङ र उदयपुरको विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएको छ ।

ठेकेदार कम्पनीका साइड इन्चार्ज रमेशकुमार न्यौपानेले समयमै काम सक्नेगरी कामले गति लिएको जानकारी दिए ।

पुल नहुँदा खोटाङको दक्षिण भेकका बासिन्दाले झोलुंगे पुलकै भरमा आउजाउ र सामान ढुवानी गरिरहेका छन् । जसको कारण महँगी र यात्रा कष्टकर बनेको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।