लैंगिक पहिचान र गरिबीको पीडामा अन्तरलिंगीहरू (भिडियो कथा)

माघ ४, २०८० |रमेश ठाकुर
लैंगिक पहिचान र गरिबीको पीडामा अन्तरलिंगीहरू (भिडियो कथा)

बारा । सबै मानिस पुरुष र महिलामात्र भएर जन्मन्छन् भन्ने हुँदैन । कतिपयलाई थाहा नभएको कुरा के छ भने महिला र पुरुषभन्दा भिन्न लैंगिक पहिचान तथा फरक यौनिक भूमिकाका मानिस पनि समाजमा हुन्छन् । जन्मँदा छोराछोरी छुट्याउन नसकिने यौनिक समुदायलाई अन्तरलिंगी भनिएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका २० इनरवा सिराका १८ वर्षीय मनोज पासवान अन्तरलिंगी हुन्। यही कारणले उनलाई निकै समस्या भोग्नु परेको छ । २४ घण्टा पिसाब चुहिने उनको समस्या जन्मदेखि नै छ । अन्तरलिंगी बच्चाहरूको शल्यक्रिया गरेर लिंग परिवर्तन गर्न सकिने भएपनि आर्थिक अवस्था कमजोर रहेका पासवानको शल्यक्रिया हुन सकेको छैन । पासवान भन्छन्- पूरा शरीर दुख्छ, पेट फुलिन्छ, निरन्तर पिसाब चुहिँदा पाइन्ट भिजेको हुन्छ ।

त्यस्तै कलैया उपमहानगरपालिका १३ का १५ वर्षीय मन्दीप पटेल अन्तरलिंगी भएकै कारण सानैदेखि सामाजिक विभेदमा परेका छन् । पटेललाई विद्यालयमा समेत समान व्यवहार हुँदैन । अहिले कक्षा ९ मा अध्ययन गरिरहेका मन्दीपको परिवारलाई छोराको उच्च शिक्षाको समस्याले सताएको छ । छोराको पाठेघर निकाल्न शल्यक्रिया गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकोले शल्यक्रिया गर्न नसकेको उनको परिवारको दुखेसो छ ।

अहिले बारामा लाञ्छना र भेदभावमा परेका ९ जना अन्तरलिंगीहरु सम्पर्कमा रहेको यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज उठाउँदै आएको निल हिरा समाज बाराले जनाएको छ । तर समस्यामा रहेका यस्ता व्यक्तिहरूलाई स्थानीय निकायहरूले पनि वास्ता नगरेको अधिकारकर्मीहरूको गुनासो छ ।

जिल्लामा एकदम न्यून सङ्ख्यामा रहेको अन्तरलिंगीहरुको समस्या समाधानका लागि स्थानीय निकायले विशेष पहलकदमी लिन जरुरी देखिन्छ । 


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।