दुर्घटना बढेपछि सडकमै सचेतना, ६ महिनामा एक करोड राजस्व उठ्यो

१५ हजार ६५९ सवारीसाधनलाई कारबाही
माघ ३, २०८० |रमेश ठाकुर
दुर्घटना बढेपछि सडकमै सचेतना, ६ महिनामा एक करोड राजस्व उठ्यो

बारा । सडकमा हुने बढ्दो सवारीसाधन दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सचेतना अभियान थालेको छ । ट्राफिकले सवारीचालकदेखि पैदलयात्रुसम्मलाई सडकमै प्रशिक्षण दिन थालेको हो । योसँगै शैक्षिक संस्था तथा सार्वजनिक स्थलमा पनि सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम हुने गरेका छन् ।

बारामा गत आर्थिक वर्षमा ९७२ वटा साना-ठूला सवारीसाधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भयो । यस आर्थिक वर्षको ६ महिनामा मात्रै ४८८ दुर्घटना हुँदा ५० जनाको मृत्यु भइसकेको छ ।

दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियान थालेको छ । अभियानअन्तर्गत ट्राफिकले सवारी चालकदेखि पैदलयात्रुसम्मलाई सडकमै प्रशिक्षण दिने, सवारीसाधनमा रिफ्लेक्टर टाँस्ने, दुर्घटना भइरहने क्षेत्रको पहिचान गर्ने काम गरिरहेको छ । यसका साथै शैक्षिक संस्था र सार्वजनिक स्थलमा सचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख राजकुमार महतोले जनाए ।

उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि रातको समयमा मापसे जाँच कडाइका साथ गरिरहेका छौं । कतिपय अवस्थामा भित्री सडकहरुमा पनि हामीले जाँच गर्ने गरेका छौं ।’

राजमार्गको दक्षिणी भेकका सडकमा दुर्घटनाको दर बढी छ । सडक अनुशासन र नियमबारे खासै जानकारी नभएको यो भेकमा ट्राफिकको अभियानले दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास रहेको शिक्षक ज्ञानप्रसाद रौनियार बताउँछन् ।

अभियानअन्तर्गत सहभागीहरुलाई सडकको सुरक्षित प्रयोग, ट्राफिक संकेत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने व्यवहारिक कुरासँगै सवारी तथा यातायात व्यवस्था ऐनमा रहेका कानुनी प्रावधानबारे सैद्धान्तिक प्रशिक्षणसमेत दिने गरिएको छ ।

साथै यस आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ६५९ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १ करोड २७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।