नेपालमा अहिलेसम्म गएका भूकम्पबारे तपाईँलाई कति थाहा छ ? आउनुस्, आज म तपाईँलाई आजसम्म नेपालमा गएका भूकम्पहरूको बारेमा बताउँछु ।
नेपालको इतिहासमा भूकम्पहरू धेरै गएका छन् । कतिको त मापन समेत हुन सकेनन् । ती भूकम्पबाट मानवीय र भौतिक क्षति कति भए भन्ने समेत इतिहासमा भेटिँदैन । यति हुँदा पनि विक्रम संवत् १२८० मा गएको भूकम्पलाई पहिलो र पुरानो भूकम्प भनेर व्याख्या गरेको इतिहास भेटिन्छ । तर त्यो भूकम्प कति म्याग्नेच्युटको थियो र त्यसले कति क्षति गर्यो भन्ने इतिहास भने भेट्न गाह्रो छ ।
त्यसपछि १३१२ मा अर्को ठूलो भूकम्प गएको भनेर सुनिन्छ । र त्यो भूकम्पमा परी त्यतिबेलाका राजा अभय मल्लको मृत्यु भएको भनेर विभिन्न पुस्तकमा उल्लेख भएको पाइन्छ । भूकम्पमा परी राजाकै मृत्यु भएको अर्को घटना पनि छ । विक्रम संवत् १४०१ मा दसैँको फुलपातिका दिन गएको भूकम्पमा परी राजा अरि मल्लको मृत्यु भएको केही दस्ताबेजमा उल्लेख गरिएको छ । तर यी दुवै भूकम्पको बाँकी जनधनको क्षतिको विवरण भने हामीसँग छैन ।
यी बाहेक १२८० देखि २०८० सम्म गएका ५१ वटा भूकम्पलाई ठूला भूकम्प भनेर मापन गरिएको इतिहास भेटिन्छन् । यी मध्ये इतिहासमै सबैभन्दा ठूलो र विनाशकारी ५ वटा भूकम्प गएका छन् ।
१९९० को भूकम्प
१९९० साल माघ २ गते सङ्खुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर ८ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गयो । ८ हजार ५ सय भन्दा बढी मानिसहरूको मृत्यु भयो । यो भूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ४२ सय भन्दा बढीले ज्यान गुमाएका थिए । साढे २ लाख घरहरू भत्किएका थिए । रोचक कुरा के छ भने ९० सालको भूकम्पपछि संरचना पुनर्निर्माण गर्न नेपालमा पहिलोपटक सिमेन्ट भित्रिएको मानिन्छ । त्यही भूकम्प गएको दिनलाई सम्झेर माघ २ लाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो ।
२०४५ को भूकम्प
२०४५ साल भदौ ५ गते उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गयो । त्यहाँ पनि ७ सय ५० जनाले ज्यान गुमाए भने हजारौँ संरचना ध्वस्त भए । त्यसबेला रानी कोमल राज्यलक्ष्मी शाहकी आमाको जन्मोत्सव कार्यक्रम पनि भूकम्पकै कारण रद्द गरिएको थियो भनेर पढ्न पाइन्छ ।
२०६८ को भूकम्प
विक्रम संवत् २०६८ साल असोजमा ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ९ म्याग्नेच्युडको भूकम्प जाँदा १ सय ११ जनाले ज्यान गुमाउनु परेको थियो । भौतिक क्षति पनि धेरै भएको थियो ।
२०७२ को भूकम्प
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु भएर ७ दशमलव ३ म्याग्नेच्युडको गएको थियो । ८ हजार ५ सय ५९ जनाले ज्यान गुमाए भने लाखौँ घर तथा संरचना ध्वस्त भए । गोरखा सिन्धुपाल्चोक लगायतका जिल्लाका धेरै गाउँ बस्ती नै सखाप भए । लाखौँ घर संरचनाहरू ध्वस्त भए भने विद्यालय भवन तथा सांस्कृतिक सम्पदाहरू समेत नामेट भए । अहिले पनि ती भौतिक संरचनाको पुननिर्माणकै क्रममा छन् ।
२०८० को भूकम्प
भर्खरै गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्पबाट १ सय ५३ जनाले ज्यान गुमाए । त्यहाँ पुरै जिल्ला नै नराम्ररी ध्वस्त भएको छ । अहिले पनि प्रभावितमध्ये अधिकांश पालमुनि गुजारा चलाउन बाध्य छन् ।