यसरी बनाइन्छ मुखै रसाउने चाकु (भिडियो)

पुस २९, २०८० |नारायण किलम्बू|राजेन्द्र महर्जन
यसरी बनाइन्छ मुखै रसाउने चाकु (भिडियो)

काठमाडौं । माघे संक्रान्तिका दिन घिउ, चाकु खाएर मनाउने चलन छ । टोखाको चाकु भनेपछि मुखै रसाउने । यस्तो स्वादिष्ट चाकु बनाउन निकै मिहिनेत लाग्छ ।

सक्खरलाई डेक्चीमा हालिन्छ । त्यसपछि थोरै पानी हालेर करिब एक घण्टा पकाइन्छ । सक्खर पाकिसेकपछि भाँडोबाट निकालेर चिस्याइन्छ । चिसो भइसकेपछि कालो रङको पाकेको सक्खरको झोललाई सुरुमा मेसिनले करिब ८ मिनेट जति फिटिन्छ । त्यसपछि हातले ५ मिनेट फिटेर पहेँलो अथवा चकलेट रङको बनाइन्छ ।

फिटेको चाकुलाई दुई पाउ, आधा किलो वा एक किलोलगायत आवश्यकता अनुसारको तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ । उपभोक्ताको मागअनुसार चाकुमा विभिन्न किसिमका मसला मिसाएर बनाइन्छ ।

चाकुसँगै तिलका लड्डुसमेत बनाइन्छ । पछिल्लो समयमा बजारमा तिलका लड्डुको माग पनि धेरै छ । नरिवल, खुवा, बदाम, काजुलगायत मसला मिसाएर विशेष चाकुसमेत बनाइन्छ । टोखाका उद्योगी व्यवसायीलाई अहिले चाकु, लड्डुलगायत परिकार बनाउन अहिले भ्याइनभ्याई छ ।

एउटा उद्योगले कम्तिमा एक हजार बोरा चाकु बनाएर बेच्ने गर्छन् । यहाँको एउटा उद्योगले माघे संक्रान्तिको एक सिजनमा कम्तिमा ५० लाख रुपैयाँभन्दा बढीको बिक्री गर्ने गर्छन् । जाडोमा चाकु खाँदा शरीर न्यायो हुने र आवश्यक पौष्टिक तत्त्व प्राप्ति हुने भएकाले पनि टोखाका स्वादिष्ट चाकु किन्न विभिन्न ठाउँबाट मानिसहरु पुग्ने गर्छन् ।

टोखामा उत्पादन भएका चाकु काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, विराटनगर, काभ्रे, दोलखालगायत विभिन्न जिल्लामा पुग्‍ने गरेका छन् । यहाँका चाकु स्वदेशसँगै विदेशमा समेत जाने गरेको व्यवसायीहरुको भनाइ छ ।

यो पनि...

टोखाको चाकु (फोटो फिचर)

माघे सङ्क्रान्तिलाई टोखाको तात्ताको चाकु (भिडियो रिपोर्ट)

टोखामा चाकु दिवस मनाइँदै

अमेरिका, बेलायत र जापानसम्म पुग्छन् टोखामा उत्पादन हुने चाकु


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।

Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।