टोखाको चाकु (फोटो फिचर)

पुस २९, २०८० |राजेन्द्र महर्जन
टोखाको चाकु (फोटो फिचर)

काठमाडौं । चाकुका लागि काठमाडौंको टोखा प्रख्यात छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छविकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । टोखामा अहिले १४ वटा चाकु उद्योग छन् । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।

टोखामा सञ्चालित उद्योगहरु अहिले चाकु बनाउन व्यस्त छन् । यहाँ सादा चाकु, मसला राखेको चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत बनिरहेका छन् ।

चाकु खाँदा शरीरमा फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुन्छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ ।

यसपालि ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघेसंक्रान्तिको अवसर पारेर भोलि (माघ १ गते) ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिने भएको हो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको पनि जानकारी दिए । चाकु दिवसमा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिने तयारी छ ।

यो पनि...

माघे सङ्क्रान्तिलाई टोखाको तात्ताको चाकु (भिडियो रिपोर्ट)

टोखामा चाकु दिवस मनाइँदै

अमेरिका, बेलायत र जापानसम्म पुग्छन् टोखामा उत्पादन हुने चाकु

हेरौं थप तस्बिर :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।