सन्दीपमाथि हुने सजायको प्रतीक्षामा गौशाला २६, पूर्ण न्यायका लागि माथिल्लो अदालत जाने

पुस १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सन्दीपमाथि हुने सजायको प्रतीक्षामा गौशाला २६, पूर्ण न्यायका लागि माथिल्लो अदालत जाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि सजाय तोकिसकेको छैन । त्यसका लागि फैसला गर्ने न्यायाधीश शिशिरराज ढकालकै इजलासमा पुस २५ गते पेसी तोकिएको छ । पीडित गौशाला २६ र उनका कानुन व्यवसायीले पीडकमाथि तोकिने सजायको प्रतीक्षा गरेका छन् ।

२०७९ भदौ ५ मा लामिछानेबाट भएको यौनहिंसा र भदौ २१ मा प्रहरीमा उजुरी परेयताका १५ महिनाभन्दा बढीको कानुनी लडाइँका क्रममा पीडित 'गौशाला २६' ले निकै संघर्ष गरिन् । शुक्रबारको फैसलाबाट पाएको न्यायले उनी खुसी त छिन् । तर, आफूले माग गरेका विषयवस्तु र आधारबिना फैसला नभएको अवस्थामा पूर्ण न्यायका लागि माथिल्लो अदालतमा पनि जाने उनी र कानुन व्यवसायीको योजना छ ।

वरिष्ठ अधिवक्ता शशी अधिकारी भन्छिन्, ‘उमेरको विवाद भनेको हाम्रो नेपाली उखान जस्तै काम कुरो एकातिर कुम्लो बोकी थिमितिर भनेजस्तै हो ।  जबरजस्ती करणी भनेको कुरा उमेरसँग जोडिँदैन ।  ऊ १७ वर्ष भएपनि १८ वर्ष भएपनि उमेर अनुसारको सजायको व्यवस्था त छ नि त ।’

सन्दीपको यौनहिंसाविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएपछिका ५ महिना उनी गौशालामा लुकेर बस्नुपर्‍यो भने त्यतिखेर कतिपयले त सन्दीपलाई नै पीडितका रुपमा अर्थ्याएका थिए । पीडक जेलबाट धरौटीमा निस्कँदा लगाइएका टीका, फूलमाला र अबिरले आफूलाई झन् पीडा दिइरहेको अनुभव उनले गरिन् । यहीबीचमा उनलाई कतिपटक त बयान बदल्न लगाउने प्रयाससमेत भएको कानुन व्यवसायीको दाबी छ ।

आफूले भोग्नु परेको हिंसाको डटेर सामना गरेकी उनलाई अधिकारकर्मीले पनि सघाए । जसमा सरकारी वकिलले पनि आरोप प्रमाणित गर्न र पर्याप्त प्रमाण जुटाउन सहयोग गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement