ज्येष्ठ नागरिकको मन बिसाउने थलो बन्यो दिवा केन्द्र

पुस ९, २०८० |भोटराज राई
ज्येष्ठ नागरिकको मन बिसाउने थलो बन्यो दिवा केन्द्र

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले दिवा केन्द्र सञ्चालन गरेपछि ज्येष्ठ नागरिकहरुलाई समय कटाउन सहज भएको छ । परिवारका सदस्यहरु काममा जाने भएपछि दिनभर एक्लै बिताउनुपर्ने बाध्यतामा रहेका ज्येष्ठ नागरिकहरु वडा कार्यालयले दिवा केन्द्र खोलेसँगै खुसी भएका छन् ।

त्रियुगा नगरपालिका-१० की ७५ वषिर्या मनमाया कार्कीलाई अचेल घरभन्दा वडा कार्यालय रमाइलो लाग्छ । वडाभरीका अन्य ज्येष्ठ नागरिकहरु पनि अचेल मनमायाजस्तै दिन कटाउन वडा कार्यालय पुग्छन् । वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले भजनकीर्तनसागै अन्य गतिविधि सञ्चालन गरेर उनीहरुको दैनिकी सहज बनाउन पहल गरेको हो । साथमा उनीहरुलाई खाजाको रुपमा चिया बिस्कुट पनि उपलब्ध गराइन्छ । गत साउनदेखि सुरु यो कार्यक्रमले ज्येष्ठ नागरिकको मुहारमा खुसी ल्याएको छ ।

जेष्ठ नागरिक राधादेवी भट्टराईले भनिन्, ‘सबै दिदीबहिनी, दाजुभाइसँग भेट हुन्छ । बातचित हुन्छ । भगवानको कीर्तन हुन्छ ।’

उमेरको उत्तरार्द्धमा हुने एक्लोपन हटाउन वडाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी देखिएको छ । हरेक दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म कार्यक्रम हुन्छ । ज्येष्ठ नागरिकहरु आफैँ बाजागाजा बजाउँछन्, भजन गाउँछन्, नाच्छन्, रमाउँछन् । यसले उनीहरुमा तनाव व्यवस्थापन भई शारीरिक-मानसिक स्फुर्ती बढेको छ । यस वडामा ७२२ जना ज्येष्ठ नागरिक छन् ।

वडाध्यक्ष किरण पाण्डेले यस कार्यक्रममार्फत जेष्ठ नागरिक खुसी रहेको बताउँदै भने, ‘साथीभाइ, संगीसँग मनका पीडा व्यथा साटासाट्न गर्नका निम्ति यो वडा कार्यालयमा भेटघाट कार्यक्रम र विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिरहनु भएको छ ।’

वडा कार्यालय एकअर्कासाग भेटघाट, भलाकुसारी गर्ने अनि जीवनका भोगाइ र अनुभवहरु साटासाट गर्ने थलो बनेको छ ।

१६ वटा वडा रहेको त्रियुगा नगरपालिकामा ८ हजार ९८३ जना ६० वर्षमाथिका नागरिक‍ छन् । ज्येष्ठ नागरिक सम्मानको नाममा केही बजेट छुट्याउने र एकदिने कार्यक्रम गरी झारा टार्नुभन्दा यो कार्यक्रमले सकारात्मक परिणाम दिएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।