अपडेट : दुई जनाको मृत्युपछि बसमा आगजनी, बीपी राजमार्ग अवरुद्ध

पुस ९, २०८० |राजकुमार कार्की
अपडेट : दुई जनाको मृत्युपछि बसमा आगजनी, बीपी राजमार्ग अवरुद्ध

सिन्धुली । बीपी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुहरुले बसमा आगजनी गरी सडक अवरुद्ध पारेका छन् ।

सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार बिहान भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका - १० की १८ वर्षीय मुनाकला राईको मृत्यु भएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायातको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय एवं अन्य सवारीका यात्रुहरुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधनको बोहोरेटारमा लर्को लागेको छ ।

बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रनाउ चिरन्जीवी दाहालले जानकारी दिए ।

घटनास्थल पुगेका सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले स्थिति नियन्त्रणमा लिएर सडक अवरोध खुलाउने प्रयास भइरहेको जनाएका छन् । 


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement