प्रहरीको गोली लागेर मृत्यु भएका मुखियाको शव पाँच दिनपछि परिवारले बुझ्यो

पुस २, २०८० |रमेश ठाकुर
प्रहरीको गोली लागेर मृत्यु भएका मुखियाको शव पाँच दिनपछि परिवारले बुझ्यो

बारा । मंसिर २७ गते बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मी बिन मुखियाको शव पाँच दिन पछि परिवारले बुझेर दाहसंस्कार गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय बारामा पीडित परिवार र समर्थकहरुले राखेको माग पूरा गर्ने सहमति भएपछि मृतकका परिवारले आइतबारै शव बुझेका हुन् । परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा रोजगारी दिने र दोषीलाई कारबाही गर्ने लिखित सहमति भएपछि मुखियाको शव बुझेको मृतकका आफन्तले बताएका छन् ।

आइतबार अबेर राति शव बुझेछि मुखियाको राति नै दाहसंस्कार गरिएको छ । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर मंसिर २७ गते भएको झडपमा प्रहरीको गोली लागेर मुखियाको मृत्यु भएको थियो । त्यसपछि विभिन्न माग राख्दै पीडित परिवार र उनका समर्थकले दिनहु प्रदर्शन गर्दै आएका थिए ।

पीडित परिवार र आफन्तले अघि सारेका मागहरुमा सहमति हुन नसक्दा मुखियाको शव पाँच दिनदेखि नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमै राखिएको थियो ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।