तराईमा शीतलहर सुरु, राज्यको पूर्वतयारी शून्य

मंसिर २५, २०८० |अमरकान्त ठाकुर
तराईमा शीतलहर सुरु, राज्यको पूर्वतयारी शून्य

धनुषा । मौसम परिवर्तन भएसँगै तराईका जिल्लामा चिसो बढ्न थालेको छ । विपन्न, असहायलगायत आर्थिक अवस्था कमजोर रहेकाहरु चिसो छल्न आगो बालेर रात कटाउन थालेका छन् । तर सरोकारवाला निकाय विपन्न परिवारलाई शीतलहर र चिसोबाट जोगाउन गम्भीर देखिएका छैनन् । यसपटक त विपत् व्यवस्थापन समितिको बैठकसमेत बसेको छैन ।

मधेश प्रदेशका धनुषा, महोत्तरी र सिरहालगायत जिल्लामा चिसो बढ्नुका साथै हुस्सु लाग्ने क्रम सुरु भएको छ । चिसो सिरेटो हावा र शीतलहर चल्न थालेपछि जनजीवनसमेत प्रभावित छ । शीतलहरका बेला न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा, तातो र पोषिलो खानाको अभावमा विपन्न समुदायको जनजीवन कष्टपूर्ण बन्छ ।

‘जाडो बितेपछि राहत दिएर के काम ? अहिले समस्यामा छु,’ नगराइन नगरपालिका ९, घोडघास धनुषाकी सोनादेवी महतोले भनिन् । यस्तै जनकपुरधाम उपमहानगरपालिका २०, देवपुराका रामआशिष मण्डल जाडोमा आफूहरुले पराल ताप्ने गरे पनि दाउरा कतैबाट उपलब्ध नहुने बताउँछन् । उनी भन्छन्, ‘जाडोको समयमा परालको आगो ताप्ने गर्छौं तर कसैले दाउरासमेत उपलब्ध गराउँदैनन् ।’

विगतमा शीतलहरका बेला चिसोले कठ्यांग्रिएर ज्यानै जानेजस्ता घटना पनि हुने गरेका थिए । विपत्‌का बेला नागरिकलाई सहयोग गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपत् व्यवस्थापन समिति छ । तर विपन्न परिवारलाई चिसोबाट जोगाउन यस वर्ष स्थानीय प्रशासनले कुनै तयारी गरेको छैन ।

‘विपत् व्यवस्थापन समितिको बैठक बसेका छैनौं । अब छिटै बस्छौं,’ धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले कान्तिपुर टेलिभिजनसँग भने, ‘हामीले विपत्‌को पूर्वतयारीका लागि पूर्वयोजना बनाएकै हुन्छौं ।’

मधेश प्रदेशमा दलित तथा विपन्नको जनसंख्या १७.२७ प्रतिशत छ । अधिकांशले दैनिक ज्याला/मजदुरी गरी घर-व्यवहार चलाउँदै आएका छन् । त्यसमा पनि अशक्त र असहायको अवस्था त झनै कहाली लाग्दो छ ।

‘जति निकाय छन् समयमै जागुन्,’ जनकपुर २० देवपुराका भोगेन्द्र झाले भने, ‘जनतालाई सुख-सुविधा देओस् । जसले गर्दा जनतालाई यो पनि थाहा हुन्छ कि यो पनि हाम्रो देश हो र हाम्रो प्रदेश हो भनेर । तर यिनीहरु कहिले जाग्लान् यो भन्न गाह्रो छ ।’

तराईमा शीतलहरले सर्वसाधारणको जीवन कष्टकर हुँदै ज्यानै जानेसम्मका घटना हुन थालेपछि मात्र राहत लिएर जाने प्रवृत्ति छ । यस्ता घटना हुनुअघि नै तीनै तहका सरकार समन्वय गरी विपन्नको जीवनरक्षाका लागि कार्यक्रम ल्याउनु आवश्यक छ ।

यो पनि...

जुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।